- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान केही ढिला भएका छन्।
- खराब मौसमका कारण हिमाली क्षेत्रका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको र इन्स्टुमेन्ट फ्लाइट रुल्स अनुसार उडान भइरहेको छ।
- पश्चिमी वायु र अरब सागरबाट आएको न्यून चापीय प्रणालीका कारण केही स्थानमा हिमपात र वर्षा हुने सम्भावना छ।
काठमाडौँ– प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन् ।
अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।
हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































