काठमाडौँ – निर्वाचनको वातावरण बनाउन सरकारले पहिलो पटक राजनीतिक दल र ‘जेन–जी’ पुस्तासहित छलफल गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ। बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए। उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ।
निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए। सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ। आयोग पनि निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































