- अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ।
- हमासले आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ।
- इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टिनी मारिएको र विभिन्न स्थानमा क्षति भएको बताइन्छ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको भन्दै गाजामा इजरायलले हवाई आक्रमण गरेको छ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले मंगलबार हमासले गाजामा रहेका इजरायली सैनिकमाथि आक्रमण गरेको र मृतक बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताका सर्त तोडेको आरोप लगाएका छन्।
यता, प्यालेस्टिनी सशस्त्र समूह हमासले उक्त आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्दै युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको बताएको छ।
गाजास्थित हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकाय र अस्पतालका अधिकारीहरूका अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टिनी मारिएका छन्।
आक्रमण गाजा सिटी, बेइत लाहिया, अल-बुरेत: नुसेरात र खान युनिसका घर, विद्यालय र आवासीय भवनमा भएको बताइएको छ। तनाव बढेपनि, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले युद्धविराम अझै कायम रहेको विश्वास व्यक्त गरेका छन्।
मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको छोटो विज्ञप्तिमा उनले सेनालाई ‘शक्तिशाली आक्रमण’ गर्न निर्देशन दिएको उल्लेख थियो, तर त्यसको कारण भने खुलाइएको थिएन।
तर, रक्षा मन्त्री इजरायल काट्जले मंगलबार गाजामा इजरायली सैनिकमाथि आक्रमण गरी हमासले स्पष्ट रुपमा ‘रेड जोन’ को उल्लंघन गरेको बताएको छ।
सैनिकमाथि आक्रमण गरेको र मृतक बन्धकहरू फिर्ता गर्ने सम्झौता तोडेको बदलामा हमासले ठूलो मूल्य चुकाउने इजरायलले चेतावनी दिएको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो दक्षिणी गाजाको राफा सहरमा तैनाथ इजरायली फौजमाथि एन्टि-ट्यांक मिसाइल र स्नाइपरले गोली प्रहार गरिएको थियो।
त्यही समयमा, प्यालेस्टिनी सञ्चारमाध्यमहरूले उक्त क्षेत्रमा इजरायली तोप हान्ने गतिविधि भएको दाबी गरेका छन्।
मंगलबार साँझ इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेपछि गाजाको विभिन्न स्थानहरूमा उत्तरको गाजा सिटीदेखि दक्षिणको खान युनिससम्म शक्तिशाली विस्फोटहरूको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































