- डडेल्धुराका सामुदायिक वनका अध्यक्षविरुद्ध १८ लाख १५ हजार रुपैयाँ हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
- अख्तियारको अनुसन्धान अनुसार, अध्यक्ष सर्वजित मडैले सचिव र कोषाध्यक्षको जानकारीविना चेकको किर्ते हस्ताक्षर गरी रकम निकालेका थिए।
- रकम निकालिएको थाहा पाएपछि अध्यक्षले २ लाख रुपैयाँ फिर्ता गरे पनि विशेष अदालतमा बाँकी रकमको दाबी भएको छ।
काठमाडौँ– वनको १८ लाख १५ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा डडेल्धुराका एक सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर भएको छ।
आलिताल गाउँपालिका ३ स्थित कैलाश समैजेश्वरी वनका अध्यक्ष सर्वजित मडैलेविरुद्ध बुधबार विशेष अदालतमा काठमाडौँमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अध्यक्ष मडैले वनको २० लाख १५ हजार रुपैयाँ सचिव र कोषाध्यक्षको जानकारीविना चेक किर्ते गरेर निकालेका थिए। २०७८ मंसिरदेखि ०७९ जेठसम्म सात वटा चेकबाट उनले रकम निकालेको थाहा पाएपछि अख्तियारमा मुद्दा परेको थियो।
अख्तियारले अनुसन्धान गर्दा चेकमा किर्ते हस्ताक्षर गरेको पुष्टि भएपछि बुधबार विशेष अदालतमा १८ लाख १५ हजार रुपैयाँ विगो दाबी गरी मुद्दा दायर भएको छ।
रकम निकालेको उपभोक्ताले थाहा पाएपछि अध्यक्ष मडैले २ लाख रुपैयाँ भने खातामा जम्मा गरेको पाइएको अख्तियारका प्रवक्ता राजकुमार पौडेलले जानकारी दिए।
यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति:
प्रेस विज्ञप्ति:- मिति २०८२।०७।१२ गते।
——————————————
जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डडेल्धुरा, आलिताल गाउँपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैले कैलाश समैजेश्वर सामुदायिक वनको रकम हिनामिना, हानिनोक्सानी र दुरूपयोग गर्ने बदनियत राखी मिति २०७८।०८।१० गतेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी रकम आफ्नै नाममा मिति २०७८।०८।१६ गतेदेखि मिति २०७९।०१।२५ गतेसम्म बिभिन्न मितिमा सात वटा चेकबाट जम्मा रू.२०,१५,०००।- रकम लिएकोमा उक्त रकम लिएको समितिले थाहा पाएपछि मिति २०७९।०२।३० गते रू.२,००,०००।–(दुई लाख रुपैंया मात्र) कोषको खातामा जम्मा गरेको देखिएको भने बाँकी रकम रू.१८,१५,०००।–(अठार लाख पन्ध्र हजार रुपैंया मात्र) हिनामिना गरेको देखिंदा निजले उक्त समितिको डडेल्धुरास्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट रकम निकाल्नुपर्नेमा सो नगरी अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगर शाखाबाट रकम निकालेको देखिएको, डिभिजन बन कार्यालय, डडेल्धुराको पत्रसाथ प्राप्त कैलाश समैजेश्चर सामुदायिक उपभोक्ता समितिले गरेको मिति २०७८।०८।१० को निर्णय र राष्ट्रिय बाणिज्य बैंक लि. डडेलधुरा शाखाको पत्रसाथ प्राप्त कैलाश समैजेश्चर सामुदायिक उपभोक्ता समितिले गरेको मिति २०७८।०८।१० को निर्णय फरक फरक रहेको देखिएकोले प्रतिबादीले उक्त निर्णय किर्ते गरी रकम निकालेको आयोगबाट खटिएको टोलीले गरेको स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय, डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन एवं फरेन्सिक परीक्षण प्रतिवेदनबाट किर्ते सहिछाप गरेको समेत देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा निज प्रतिवादी सर्वजित मडैलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरे बमोजिम बिगो रू.१८,१५,०००।-(अठार लाख पन्ध्र हजार रुपैंया मात्र) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को पहिलो संशोधन सहितको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम बिगो बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी निज प्रतिवादीबाट हिनामिना, हानिनोक्सानी एंव दुरूपयोग गरेको बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

भर्खरै
लोकप्रिय






































































































































































































