- सुनसरीस्थित काब्रा समूहद्वारा उत्पादित ‘टप बिस्कुट’ कुहिएको अवस्थामा फेला परेपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।
- घटना उपभोक्ता अधिकार र खाद्य सुरक्षामा गम्भीर मानिँदै काब्रा समूहको उत्पादन प्रक्रिया र बजार नियमनमा प्रश्न उठायो।
- उपभोक्ताहरूले सरकारले चाडपर्वको सन्दर्भमा मात्रै सीमित अनुगमन नगरी प्रभावकारी कानुनी कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ – सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको ‘टप बिस्कुट’ कुहिएको अवस्थामा भेटिएको छ। बजारमा सहज रूपमा पाइने यो बिस्कुट उपभोक्ताले किनेर खान खोज्दा कुहिएको भेटिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।
काब्रा समूहका अध्यक्ष राम निवास काब्राको नेतृत्वमा सञ्चालित सो विस्कुट अहिले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ।
उपभोक्ता अधिकार र खाद्य सुरक्षा दुवै सन्दर्भमा गम्भीर मानिएको यो घटनाले काब्रा समूहको उत्पादन प्रक्रिया र बजार नियमनप्रति पनि ठूला प्रश्न खडा गरेको छ।
उपभोक्ता विकास श्रेष्ठका अनुसार उनले बिस्कुटको प्याकेट फुटाएर खान खोज्दा एक पिस गन्हाएको महसुस गरे। त्यसपछि उनले प्याकेट पूरा खोलेर हेर्दा बीचको भागमा रहेको बिस्कुट कुहिएको देखे। “पहिले सुनेको थिएँ, आज आफैंले भोगेँ, उनले भने, ‘खान खोजेको बिस्कुट कुहिएको रहेछ, यो उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलवाड भएको महसुस गरेँ।
श्रेष्ठका अनुसार, बिस्कुट उनले पसलबाट खरिद गरेका थिए। भोक लागेको कारणले बिस्कुट खान खोज्दा यस्तो अवस्था देखेपछि उनले फोटो खिची प्रमाणका रूपमा सुरक्षित राखेको बताए।
यो कुनै एकल घटना मात्र नभई, उपभोक्ताहरूले यसअघि पनि काब्रा समूहका बिस्कुटमा यस्ता समस्या देखिएको अनुभव सुनाउँदै आएका छन्। स्थानीयहरूले समेत यसअघि पनि कुहिएको वा गुणस्तरहीन टप बिस्कुट भेटिएको बताएका छन्।
नेपालको सुनसरीस्थित कारखानाबाट उत्पादन हुने टप बिस्कुटको मूल्य रु १० तोकिएको छ। यसको सम्पर्क कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहे पनि उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने कुनै प्रभावकारी संयन्त्र छैन।
उपभोक्ताले सो कम्पनीमाथि कडा कारबाहीको माग गरेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्ता घटनापछि सामान्य अनुगमन गर्ने परम्परा दोहोर्या उँदै आएको छ, तर कारबाही भने दुर्लभ हुने गरेको छ। चाडपर्वको मुखमा मात्रै सीमित अनुगमन र प्रेस नोट प्रकाशन गरेर जिम्मेवारी टार्ने प्रवृत्तिले बजारमा कुहिएका र म्याद गुज्रिएका वस्तु बिक्री खुलमखुला भइरहेका छन्। नियमित अनुगमन र गुण परीक्षणको अभावले यस्तो अवस्था दोहोरिन्छ।
त्यस्तै यस्तो गम्भीर अवस्थामा नियमनकारी निकायको तत्काल र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ। केवल घटना भएपछि मात्र होइन, निवारक उपायहरू अपनाएर यस्ता घटना हुन नै नदिने प्रणाली विकास गर्नुपर्छ। उत्पादन कम्पनीहरूमाथि कडा निगरानी, गुणस्तर परीक्षण अनिवार्य बनाउने, र नियम उलङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था हुनुपर्छ।’
काब्रा समूहले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्न तत्काल पहल गर्नुपर्छ। उत्पादन प्रक्रियामा कडाई, गुणस्तर नियन्त्रण परीक्षण, र उचित भण्डारण व्यवस्था सुनिश्चित गर्नुपर्छ। यदि कम्पनीले यी कुराहरूमा ध्यान नदिएमा यसले आफ्नो ब्राण्ड छवि मात्र नभई उपभोक्ताको विश्वास पनि गुमाउनेछ। अन्ततः व्यापार समाप्त हुने खतरा पनि रहन्छ।
यो घटनाले नेपालको खाद्य सुरक्षा प्रणालीमा कत्तिको ठूलो खाडल रहेको देखाएको छ। सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको जिम्मेवारीपूर्ण भूमिका बिना यो समस्याको समाधान सम्भव छैन। उपभोक्ताको स्वास्थ्य सुरक्षा सर्वोपरि हुनुपर्छ र यसमा कुनै सम्झौता हुनु हुँदैन।
उपभोक्ताको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गर्ने कम्पनी वा व्यक्तिमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ ले कडा कानुनी सजायको व्यवस्था छ।
ऐनको धारा ११ अनुसार गुणस्तरहीन, अमानक, म्याद गुज्रिएको वा स्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादन, बिक्री वा वितरण गर्न पाइँदैन। यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याएको ठहर गरिन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































