- नेपालले भारतविरुद्धको मैत्रीपूर्ण खेल पेनाल्टी सुटआउटमा जितेको छ, जसमा गोलरक्षक अञ्जना राना मगरले दुई पेनाल्टी बचाइन्।
- पहिलो हाफमा सौम्य गोगुलोथको गोलले भारतलाई अग्रता दिए पनि रश्मिकुमारी घिसिङको गोलले नेपाललाई बराबरीमा ल्यायो।
- सिक्किमले आयोजना गरेको खेलमा नेपालले भारतलाई हराउँदै आफ्नो विजयको इतिहासलाई निरन्तरता दिएको छ।
भारतविरुद्ध आज भएको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ। निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ नेपालकि गोलरक्षक अञ्जना राना मगरले भारतका दुइवटा पेनाल्टी प्रहार बचाएपछि नेपालले सहज रुपमा नतिजा आफ्नो पक्षमा पार्यो।
कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारीविना मैदान उत्रिएको नेपाल विरुद्ध भारतले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा सौम्य गोगुलोथको गोलमा भारतले अग्रता बनाएको थियो। निशा थोकरको मिस पासमा प्राप्त बलमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
तर पहिलो हाफमै नेपाल खेलमा फर्किने क्रममा इन्जुरी समयको दोस्रो मिनेटमा रश्मिकुमारी घिसिङले बराबरी गोल गरिन्। कप्तान अनिता बस्नेतको कर्नरमा रश्मिले हेड मार्फत खेल बराबरीमा ल्याएकी थिइन्। त्यसपछि दुबै तर्फबाट निर्धारित समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ नेपालले बाजी मार्याे।
भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गरेको थियो। फिफा विन्डोमा नभएकाले अनौपचारिक भएपनि नेपालले पछिल्लो समय भारतलाई हराउँदै आएको इतिहासलाइ निरन्तरता दिएको छ। यो खेल हेर्न सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) सहितका उच्च पदस्थहरुको उपस्थिति रहेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































