- नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिए।
- माओवादी केन्द्रले २०४६ सालपछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गर्यो।
- पार्टीले लोकतन्त्र, संविधान र निर्वाचनप्रतिको जेनजीको प्रतिबद्धतालाई सम्मान गर्दै चुनावी सहकार्यको इच्छुक रहेको जनाएको छ।
काठमाडौँ- सरकार, राजनीतिक दल र ‘जेनजी’ समूहबीच बालुवाटारमा भएको त्रिपक्षीय संवादमा नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गरेको छ।
पार्टीका तर्फबाट सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनको वातावरण निर्माणमा जोड दिँदै जेनजीसँग चुनावी सहकार्यको प्रस्ताव राखेका छन्।
माओवादी केन्द्रले आन्दोलनपूर्व र पछि पनि जेनजीका मागहरूमा समर्थन जनाएको र अहिले पनि समर्थन जारी रहने जनाएको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेन्डामा माओवादी केन्द्र र जेनजीबीच निकटता रहेको उनले स्पष्ट पारे।
२३ र २४ भदौपछिको अवस्थामा राजनीतिक र संवैधानिक प्रक्रिया सँगै लैजानुपर्नेमा जोड दिँदै उनले मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने एक मात्र बाटो निर्वाचन नै भएको बताए।
उनले सरकारलाई अविलम्ब निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्न आग्रह गरे।भ्रष्टाचार नियन्त्रण गर्नका लागि २०४६ सालपछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने हो भने माओवादी केन्द्रले पूर्ण समर्थन र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
जेनजी आन्दोलनका सम्भव मागहरूलाई सरकारले तत्काल सम्बोधन गरेमा पार्टीको समर्थन रहने पुनको भनाइ छ।
माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रण को एजेन्डा लिएर चुनावमा जाने र जेनजीसँग चुनावी सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए।
उनले लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको जेनजीको प्रतिबद्धतालाई पार्टीले उच्च सम्मान गरेको बताउँदै आन्दोलनको भावनाअनुसार आफूलाई रूपान्तरण गर्न पनि तत्पर रहेको उद्घोष गरे।
पुनले सरकारले निर्वाचनको वातावरण बनाउने बित्तिकै आफ्नो पार्टी चुनावमा होमिन तयार रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































