- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षण पुनः सुरु गर्न आदेश दिएका छन्, जसले विश्वव्यापी स्थिति तनावपूर्ण बनाएको छ।
- ट्रम्पले भनेका छन् कि रुस र चीनको परमाणु गतिविधिका कारण अमेरिकाले आफ्नो हतियार परीक्षण गर्न बाध्य भएको छ।
- वृहत्तर परमाणु–परीक्षण–निषेध सन्धिमा अमेरिका सहभागी भए पनि यसलाई औपचारिक रूपमा कहिल्यै मन्जुर गरिएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकी सेनालाई परमाणु हतियारको परीक्षण फेरि सुरु गर्न आदेश दिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता सुरु हुनुभन्दा केही मिनेटअघि उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरेका एपीले जनाएको छ।
ट्रम्पले बिहीबार देशको डिपार्टमेन्ट अफ वारलाई परमाणु हतियारको परीक्षण थाल्ने आदेश दिएका हुन्। ट्रम्पको यो निर्णय रुस र अरू देशले हालै गरेका परमाणु परीक्षणपछिको हो।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अमेरिकाका सबै परमाणु हतियारको पूर्ण अपडेट र नवीकरण गरिएको बताएका थिए। उनले भने, “संयुक्त राज्य अमेरिकासँग कुनै पनि देशभन्दा बढी परमाणु हतियार छन्। यो उपलब्धि मेरो पहिलो कार्यकालमा हासिल गरिएको थियो।”
यद्यपि, ट्रम्पले यी हतियारको भारी विनाशकारी शक्तिका कारण परीक्षण गर्न घृणा लाग्ने बताए। तर, मौजुदा विश्वव्यापी परिस्थितिमा आफूसँग कुनै विकल्प बाँकी नरहेको उनले जिकिर गरे।
ट्रम्पले परमाणु शक्तिको मामिलामा रुस दोस्रो सबैभन्दा ठूलो देश भएको उल्लेख गरेका छन्। यो मामिलामा चीन हाल निकै पछाडि रहेको उनको भनाइ छ। उनले लेखेका छन्, “रुस दोस्रो स्थानमा छ र चीन धेरै टाढा तेस्रो स्थानमा छ। तर, अबका पाँच वर्षमा चीन बराबरीमा आउनेछ।”
अरू देशले परमाणु परीक्षण गरिरहेका बेला अमेरिकाले पनि बराबरीका आधारमा यस्तो गर्नुपर्ने उनले जिकिर गरेका छन्।
एपीका अनुसार, अमेरिकी सेनाले नियमित रूपमा आफ्नो परमाणु हतियार बोक्न सक्ने मिसाइलको परीक्षण गरिरहन्छ। तर, प्रतिबन्धका कारण अमेरिकाले सन् १९९२ पछि परमाणु हतियारको परीक्षण गरेको छैन। हाल ३३ वर्षपछि ट्रम्पले यस्तो गर्ने आदेश दिएका हुन्।
अमेरिका व्यापक परमाणु–परीक्षण–निषेध सन्धिको हिस्सा हो। सन्धिले सबै परमाणु विस्फोटक परीक्षणमा रोक लगाउँछ। यद्यपि, अमेरिकाले औपचारिक रूपमा यो सन्धि कहिल्यै मन्जुर गरेको छैन।
अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा एउटा कानुनमा हस्ताक्षर गरेका थिए। त्यसअन्तर्गत रुसले सीटीबीटी सन्धिबाट आफ्नो स्वीकृति फिर्ता लिएको थियो, ताकि ऊ अमेरिकासँग समान स्थितिमा रहन सकोस्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “अरू देशहरूको परीक्षण कार्यक्रमका कारण मैले बराबरका आधारमा हाम्रो परमाणु हतियारहरूको परीक्षण सुरु गर्न युद्ध विभागलाई निर्देशन दिएको छु। यो प्रक्रिया तत्काल सुरु हुनेछ।”
सी चिनफिङसँगको भेटवार्ताका क्रममा एक रिपोर्टरले चिच्याएर ट्रम्पलाई यो पोस्टका बारेमा सोधेका थिए, तर उनले त्यसलाई बेवास्ता गरे।

भर्खरै
लोकप्रिय






































































































































































































