 
                            -  मौसम विभागका अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिकामा २४ घण्टामा १९८.२ मिलीमिटर वर्षा मापन भएको छ।
 
-  भारी वर्षाका कारण डुबानको खतरा बढ्ने भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।
 
- अधिकारीहरूले बेमौसमी वर्षाले धान र तरकारी बालीमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन्।
मौसम प्रतिकूल बनेपछि मोरङको सुन्दरहरैंचा नगरपालिकामा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको २४ घण्टामा सुन्दरहरैंचा नगरपालिकामा १९८.२ मिलीमिटर वर्षा भएको छ। महाशाखाले रातो संकेत जारी गर्दै सो क्षेत्रमा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
अधिक वर्षाका कारण डुबान तथा खोला नजिक बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्ने आग्रह जिल्ला प्रशासन कार्यालय, मोरङले गरेको छ। त्यस्तै, झापाको दमकमा १०१ मिलीमिटर, अर्जुनधारामा १००.८ मिलीमिटर र बाहुनडाँगीमा १००.४ मिलीमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
वर्षाको यो परिस्थितिले खेतीपातमा समेत असर पुर्याउने विराटनगरस्थित कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाका अनुसार अहिलेको झरीले मुख्यतया खेतमा काटेर लडाइएको धानमा समस्या ल्याउने सम्भावना छ।

अधिकृत बर्देवाले भने, “अहिलेको बेमौसमी वर्षाले भुइँमा राखिएका बेर्नादेखि कोपीका फूल, मुला, चौसुर, बैगुन, गाजरलगायतका तरकारीमा असर पर्न सक्ने देखिएको छ।” उनका अनुसार कृषकले भुइँमा राखेका बेर्ना, कोपी र सागसब्जीमा पनि क्षति पुग्ने सम्भावना छ।
उनले थपे, “निर्देशनालयले हाल कृषकका खेतमा भएको क्षतिको तथ्यांक संकलन गर्ने कार्य जारी राखेको छ।” लहरे खेतीतर्फ भने अहिले घिरौला, काक्रो र इस्कुशको सिजन समाप्त हुँदै गएकाले तराई क्षेत्रमा धेरै समस्या नहुने उनले बताए।
वर्षा हुन सक्ने सम्भावना र त्यसले खेतीमा पार्न सक्ने प्रभावबारे सूचना प्रवाह भएकाले धेरै कृषकले धान नकाटी खेतमै छाडेको उनले जनाए। तर, सूचना नपुगेका र पहिले नै धान काटी भुइँमा लडाएका किसानका बालीमा कुहिने र बिग्रिने जोखिम रहेको उनले बताए।
सुन्दरहरैंचा क्षेत्रका किसानहरूले धान काटी भुइँमा लडाइसकेका कारण त्यसमा कुहिने र नष्ट हुने सम्भावना उच्च रहेको अधिकृत बर्देवाले जानकारी दिए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































