 
                            अदानचुली – हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन्।
एघार दिनदेखि बेपत्ता भएका सुनार आज सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुनार यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफ्न्त धनवीर सुनारले बताए। ‘घरका लागि विद्युत्को मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो। प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो,’ उनले भने।
सुनारको कात्तिक ७ गतेदेखि नियमित खोजी भइरहेकामा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।
‘लामो समयसम्म सुनार घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए। निवेदन दिएलगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो,’ उनले भने।
सुनारको शव भेटिएको भन्ने जानकारी आए लगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। मृतकको शव परीक्षणका लागि सदरमुकाम सिमकोट ल्याइने प्रहरीले जनाएको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































