- झापा शिवसताक्षीका सरोज शर्माको शव बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।
- स्थानीय सुनिल साहलाई हत्या आरोपमा पक्राउ गरेपछि आक्रोशित भिडले उनको घरमा तोडफोड र आगजनीको प्रयास गरे।
- अर्को आरोपी राहुल साहसहित हत्या आरोपमा दुई जनालाई प्रहरीले झिलझिले इलाका कार्यालयबाट नियन्त्रणमा लिएको छ।
झापा- झापा गाउँपालिका वडा नं.५ र बाह्रदशी गाउँपालिका वडा नं.२ को सिमाना हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि एक युवकको शव भेटिएको छ ।
आफ्नो कारसहित केही दिनदेखि बेपत्ता झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको शव भेटिएको प्रहरीले जनाएको छ।
कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अवस्थामा भेटिएको हो । २–४ दिन अगाडी नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट शव शनिवार बिहान निकालिएको छ ।
शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सुनिल साहको घरमा तोडफोड भएको छ ।
हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले माईधारका साहको घरमा तोडफोड गरेका हुन् । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ।
यसैबीच शर्माको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन् । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।
शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































