नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको खेलमा २१.५ ओभरमा तीन विकेट गुमाएर १०१ रन बनाएको छ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले खेलाडी परिवर्तन गर्दै नन्दन यादवलाई मैदानमा उतारेको छ।
नेपालले यस सिरिजमा अमेरिकासँग १०६ रन र युएईसँग ५ विकेटको हार बेहोरेको छ।
काठमाडौँ– दुवईमा जारी आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालले एक सय रनको आँकडा पूरा गरेसँगै दुवै सेट ब्याटर गुमाउन पुगेको छ। नेपालले २१.५ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाएको छ। १९.१ ओभरमा ८८ रनको अवस्थामा दोस्रो विकेटका रुपमा कुशल भुर्तेल ४८ रनमा गुमाएको नेपालले भिम सार्कीलाई ४३ रनमा गुमाउन पुगेको छ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा आसिफ शेखलाई २ रनमा गुमाएको थियो। ओपनर कुशल भुर्तेल भने ६५ बलमा २ चौका र २ छक्का प्रहार गरे। सार्की र भुर्तेल बिच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका हुन्। अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन्।
अमेरिकाले टस जितेर पहिलो फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो। युएईसँगको पछिल्लो खेलको टोलीमा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा नन्दन यादवलाई उतारेको छ। अमेरिकाका लागि नोस्थुस केनजिङ्ग र हर्मीत सिंहले समान १-१ विकेट लिए।
सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेकाले यो खेलमा जित निकाल्नु पर्ने दबाब रहेको छ। अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।
आठ टोलीको सहभागिता रहेको लिग टु को अंक तालिकाको अमेरिका शीर्ष स्थानमा, नेपाल सातौं र युएई पुछारमा छ।

भर्खरै
लोकप्रिय






































































































































































































