- नेपालले अमेरिका विरुद्ध दुबईमा चलेको एकदिवसीय खेलमा २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
- दीपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ७५ रन बनाउँदै २ चौका र ३ छक्का प्रहार गरे।
- अमेरिकाले हर्मित सिंहको तीन विकेट साझेदारीमा आफ्ना बलरहरूको मद्दतले नेपालको स्कोर सीमित राख्यो।
काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दुबईमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी हुँदा आफ्ना सम्पूर्ण विकेट गुमाएर २ सय ७१ रन बनाएको हो।
नेपालक लागि दीपेन्द्र सिंह ऐरीले ७५ रन बनाउनु सर्वाधिक रह्यो। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, कुशल भुर्तेलले ६५ बलमा ४७ रन बनाउँदा समान २ चौका र २ छक्का प्रहार गरे। उनीबाहेक भिम सार्कीले ४३ रन बनाएका थिए।
त्यस्तै, कप्तान रोहित पौडेलले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा करण केसीले ४९ रन बनाए।
अमेरिकाका लागि हर्मित सिंहले ३ विकेट लिँदा सौरभ नेत्रभास्कर र नोस्थुस केन्जीङ्गले २-२ विकेट लिए। त्यस्तै, जसदीप सिंह र शुभम् रञ्जनीले १-१ विकेट लिए।
शीर्ष क्रममा सार्की र भुर्तेलबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो। त्यस्तै, पाँचौं विकेटका लागि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ८९ रनको साझेदारी गरेका थिए। प्रतियोगितामा नेपाल लगातार दुई खेलमा पराजित भएकाले आजको खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ।
नेपालले अमेरिकासँग पहिलो खेलमा १ सय ६ रनको हार बेहोर्दा दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। ८ टोलीको सहभागिता रहेको लिग टुको अंकतालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा नेपाल सातौं र युएई पुछारमा छ।

भर्खरै
लोकप्रिय






































































































































































































