- प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावली सङ्कलनमा विगतमा नाम दर्ता गराएका नागरिकको उच्च चाप देखिएको छ।
- जिल्लामा १८-२५ वर्ष उमेर समूहका युवाहरू दैनिक २५०-३०० जना नाम दर्ता गराउन आउँछन्।
- भक्तपुरमा अहिलेसम्म १,९३,४८२ जना मतदाता छन् र आगामी फागुन २१ सम्म सङ्ख्या बढ्न अपेक्षा गरिएको छ।
काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको आयोगले जनाएको छ।
यस कार्यमा विगतमा मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकको चाप देखिएको आयोगका प्रवक्ता नारयणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले गत असोज ९ गतेदेखि नामावली सङ्कलन गरेकामा यसबीचमा हालसम्म ९० हजार ३२ नागरिले नाम दर्ता गराएका छन्। आयोगको अनुमानमा सङ्कलनको अवधि यही कात्तिक ३० गतेसम्ममा यो सङ्ख्या थप एक लाख बढ्न सक्ने देखिएको छ। यही कात्तिक १७ गतेका लागि तोकिएको रूपन्देही क्षेत्र ३ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति तोकिएपछि उपनिर्वाचनका कार्यक्रम रद्द भएको थियो।
उक्त उपनिर्वाचन हुने भनिएको अघिल्लो दिन कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो। अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ। मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ।
नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ। यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता)
पनि गराउन सकिन्छ। नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबी विरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन भएको थियो। सरकारले प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन राजनीतिक दल, जेनजी समूहरु, निर्वाचन आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै आएको छ।
एक महिनामा तीन हजार ४४८ मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामवाली दर्ताको आह्वान गरेपछि जिल्लामा मतदाता नामावली दर्ता गर्ने युवापुस्ता बढेका हुन्।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पुगेका नेपाली नगरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि अहिले १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक दुई सय ५० देखि तीन सय जनासम्म नाम दर्ता गराउन आउने गरेका कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलनमा आजसम्म तीन हजार ४४८ जनाले नाम दर्ता गराएका जानकारी दिए।
उनका अनुसार जिल्लाभित्रका पुरुष एक हजार १३ र महिला नौ सय ५४ तथा बाह्य जिल्लाबाट बसाइँ सरी आएका एक हजार ४८१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका छन् ।
सूचना अधिकारी बिसीले भक्तपुरमा अहिलेसम्म कुल एक लाख ९३ हजार ४८२ जना मतदाता कायम रहेका जानकारी दिए। उनले सरकारले नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँसारी गर्नेलगायत कार्यका लागि यही कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरेकाले अझै मतदाताको सङ्ख्या वृद्धि हुने उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































