- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशका २२० जना अभिकर्ताहरुलाई सम्मान कार्यक्रम पोखरास्थित होटल वाटरफ्रन्टमा सम्पन्न गर्यो।
- सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै विशेष पुरस्कार दिइयो।
- अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा सफल हुन आत्मविश्वास र सम्पर्क विस्तारको महत्व पुष्टिगरे।
पोखरा- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले पोखरास्थित होटल वाटरफ्रन्टमा “सिइओ क्लब सदस्य सम्मान कार्यक्रम” सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्विप प्रज्वलन गरेर गरेको थियो। सो अवसरमा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। साथै, आफ्नै कोड तथा संजालमार्फत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरुलाई विशेष पुरस्कार र सम्मान गरिएको थियो।
त्यसैगरी, कार्यक्रममा गण्डकी प्रदेशका नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले देशभर अभिकर्ता मैत्री योजनाहरू अघि सार्दै गएको र सिइओ क्लब सदस्यता योजना अत्यन्त सफल भएको जानकारी गराए। उनका अनुसार देशभरबाट हालसम्म १,६०० भन्दा बढी अभिकर्ता सो क्लबमा चयन हुन सफल भएका छन्। साथै, गण्डकी प्रदेशपछि अन्य प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले सहभागी अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका थिए। उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै व्यक्तिहरुसँग सम्पर्क विस्तार गर्दै आत्मविश्वासपूर्वक बीमा योजना प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिए।
सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण पाउनु र कम्पनीको तर्फबाट सम्मान प्राप्त गर्नु आफ्नो मेहनतको कदर र प्रेरणाको स्रोत भएको प्रतिक्रिया दिएका छन्।
उनीहरूले यसले आगामी दिनमा व्यवसायलाई अझ व्यावसायिक ढङ्गले अघि बढाउन ऊर्जा प्रदान गरेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































