- नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ताले उठाएका मागहरू माओवादी केन्द्रको धारणा र विचारसँग मेल खाने बताएका छन्।
- सापकोटाले जेनजीको माग जायज भएको र राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि यो कुरा उठाएको स्मरण गरे।
- माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयलाई सकारात्मक रूपमा लिएको छ।
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन् ।
आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेनजीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका हुन् ।
नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराए । उनले जेनजी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरे ।
नेता सापकोटाले भने,‘हामी जेनजीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । र उनीहरुको हाम्रो धारणा समान छ, साझा छ । र अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं । चाहे प्रधानमन्त्रीले बोलाउँदा होस, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस् । जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरी पनि स्पष्ट पार्न चाहन्छु ।’
नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गरे ।

भर्खरै
लोकप्रिय






































































































































































































