काठमाडौँ – एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठक माओवादीसहितका दलसँग एकता नगर्ने पक्षमा रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले बहिस्कार गरेका छन्।
केन्द्रीय कमिटीले शुक्रबार नै एकताको पक्षमा निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट हुँदै पार्टी पुनर्गठन गर्ने भन्दै शनिबार छुट्टै भेला गरेका थिए।
आइतबार सचिवालय बैठकमा पार्टी एकताबारे छलफल गर्न आयोजना गरिए पनि उनीहरु दुवै जना अनुपस्थित भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकअघि अध्यक्ष माधवकुमार नेपालले खनाल र भुसाललाई फोन गरेर बैठकमा आउन आग्रह गरेका थिए। तर दुवै जनाले नआउने जवाफ दिएको पाइएको छ।
बैठक नेपालले खनाललाई फोन गर्दा रुघाखोकी लागेकाले नआउने जवाफ दिएको जानकारी गराए।
त्यस्तै, भुसालले भने आफू पार्टी एकताको विपक्षमा रहेकाले अब नआउने जवाफ दिए। उनले नेपाललाई ‘तपाईंकै सजिलोका लागि अब हामी आउँदैनौँ। अघि बढ्नोस्।’ भन्ने जवाफ दिए।
सचिवालय बैठकले पार्टी एकताका विषयमा छलफल गरेर नेताहरु थप छलफल गर्न माओवादी केन्द्रको पार्टी कार्यालय गएका छन्।
माओवादी, समाजवादीसहितका दलले १९ गते एकता घोषणा गर्ने तयारी गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































