- नेपाल प्रहरीका ६ जना एसपीहरूको एसएसपी बढुवा प्रक्रियामा एसएसपी विश्व अधिकारीको नियति भोग्ने डर देखिएको छ।
- एसएसपी विश्व अधिकारीमाथि भदौ २३ को दमन र तोडफोड पछि कारबाही भएपनि, उचित छानबिन नगरी दोषारोपण गरिएको छ।
- महानिरीक्षक खापुङको नेतृत्वमा, राजनीतिक हस्तक्षेपका कारण प्रमोसन प्रक्रिया यान्त्रिक रूपमा भएको प्रहरी अधिकारीहरूको मन्तव्य छ।
नेपाल प्रहरीका ६ जना एसपीहरू एसएसपी बन्न ठिक्क परेर बसेका छन्। बढुवा समिति बैठक र छलफलमा व्यस्त छ। तर, एसपीहरू भने एसएसपी विश्व अधिकारीको नियति भोग्नुपर्ला कि भनेर डराइरहेका छन्।
भदौ २३ को जेनजी विद्रोहका बेला काठमाडौँ प्रहरी परिसर प्रमुख रहेका विश्व अधिकारी एसएसपीबाट डिआइजी बढुवासूचीमा परेनन्, भलै उनी आफ्ना समकक्षीहरूमध्ये एक नम्बरमा थिए। भदौ २३ गतेको दमन र २४ गतेको तोडफोडपछि काठमाडौँ प्रहरी प्रमुख अधिकारीको सरुवा भएको थियो भने उनका ठाउँमा एसएसपी रमेश थापाले मौका पाएका थिए।
भदौ २३ र २४ गतेको दमन र तोडफोडबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको आयोगले अहिलेसम्म कुनै प्रतिवेदन सार्वजनिक नगरे पनि राज्यको कोपभाजनको पहिलो सिकार एसएसपी विश्व अधिकारी बनेका हुन्।
यो घटनाले प्रहरी अधिकारीहरूमाझ महानिरीक्षक चन्द्रकुबेर राईको लाचारीको मात्र प्रश्न उठ्ने गरेको छैन, जम्माजम्मी करिब २ महिनामात्र पदावधि लिएर प्रहरी नेतृत्वमा आएका खापुङ किन यति निरीह रूपमा प्रस्तुत भए भन्ने प्रश्न पनि चर्को रूपमा अगाडि आइरहेको छ।
नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्- ‘चन्द्रकुबेर खापुङको भूमिका एउटा अर्दली र राजनीतिक कार्यकर्ताको जस्तोमात्र बनेको छ, विश्व अधिकारीलाई कारबाही गर्नेबाहेक उनले बढुवामा राजनीतिक दलहरूले नै स्थापित गरेको वरियतालाई पछ्याएका छन्।’ खापुङ एमाले समर्थकमात्र होइनन्, एमाले सरकारले पटकपटक पुरस्कृत गरेका प्रहरी अधिकारी रहेको बहालवाल अधिकारीहरू बताउने गर्छन्।
एसएसपी अधिकारीमात्र प्रहरी महानिरीक्षक खापुङको निसाना बनेको तर तत्कालीन अपरेसन विभाग प्रमुख सिद्धिबिक्रम शाह, तत्कालीन महानगरीय प्रहरी प्रमुख ओमबहादुर रानालाई उल्टै राम्रो पोस्टिङ दिएर पुरस्कृत गरेको भन्दै प्रहरी अधिकारीहरू नै उनको आलोचनामा उत्रिएका छन्। शाह र राणा दुवै राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा तानिएका हुन्।
एक पूर्व प्रहरी अधिकारीले देशसञ्चारसँग भने- ‘खापुङसँग संगठन सुदृढ गर्न ठूलो मौका हुँदाहुँदै उनले एकजना निरीह एसएसपीलाई सजाय दिनेबाहेक सिन्को पनि भाँच्न सकेनन्।’ उनको पदावधि कात्तिक २६ गते सकिँदै छ।
ती पूर्वप्रहरी अधिकारीका दृष्टिमा गृहमन्त्री ओमप्रकाश अर्याल वा गृह प्रशासनका उच्च अधिकारीहरूले सरुवाबढुवामा खासै हस्तक्षेप नगर्दा पनि महानिरीक्षक खापुङ सामान्य खरिदारजसरी यान्त्रिक रूपमा सरुवाबढुवाका काम गरिरहेका छन्। राजनीतिक दलका नेताहरूले तोकेको वरियताकै आधार उनले पनि बढुवामा पछ्याउनुले त्यही सन्देश दिएको ती पूर्वप्रहरी अधिकारीको बुझाइ छ।
एक पूर्व प्रहरी अधिकारीले देशसञ्चारसँग भने- ‘खापुङसँग संगठन सुदृढ गर्न ठूलो मौका हुँदाहुँदै उनले एकजना निरीह एसएसपीलाई सजाय दिनेबाहेक सिन्को पनि भाँच्न सकेनन्।’
त्यहीमाथि भदौ २३ को दमनमा एसएसपी विश्व अधिकारीमात्र निशानामा पर्नु गलत रहेको ती पूर्व प्रहरी अधिकारीको पनि जिकिर छ।
उनी प्रश्न गर्छन्- कुन छानबिनका आधारमा एसएसपी अधिकारी दोषी भए? तत्कालीन उपत्यका प्रहरी प्रमुख राना वा अपरेसन प्रमुख शाह वा प्रहरी प्रमुख खापुङ आफैँ चाहिँ २३ गतेको दमनमा पानीमाथिको ओभानो बन्न मिल्छ?’
खापुङ नेतृत्वको नेपाल प्रहरीले पाँच जना एसएसपीलाई हालै डिआइजी बढुवाका लागि सिफारिस गरेको थियो। बैठकले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई सिफारिस गरेको हो। वरियताक्रममा २ देखि ६ नम्बरसम्म रहेका पाँच जना एसएसपीको बढुवा भए पनि अधिकारी भने खापुङको बक्रदृष्टिको सिकार बनेका हुन्।
त्यस्तै भदौ २४ गते प्रहरीले आत्मसमर्पण गरेको घटनासँग पनि प्रहरी अधिकारीहरू सन्तुष्ट छैनन्। आत्मसमर्पण गर्नुपर्ने हात उठाउनुपर्ने कारण के हो? आफ्नो हतियार आफ्नो कार्यालय र आफ्ना सहकर्मी पनि जोगाउन नसक्ने गरी प्रहरी लत्रिनुको दोष प्रहरी प्रमुख खापुङ र सोही दिन उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका एआइजी दानबहादुर कार्कीले लिने कि नलिने? अधिकारीहरूले प्रश्न गरेका छन्।
एक पूर्व प्रहरी अधिकारीका दृष्टिमा चैत १५ गतेको राजसंस्था पक्षधरको आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको प्रहरी संगठन र अधिकारीहरूलाई कुनै चेतावनी नदिँदा पनि भदौ २३ गते अत्याधिक बल प्रयोगको अवस्था बनेको हो। ‘यसमा पनि खापुङ नेतृत्व चुकेको छ,’ ती पूर्व प्रहरी अधिकारीले भने।
प्रहरीमा अहिले ६ एसएसपीको रिक्त दरबन्दीका लागि बढुवा गर्नुपर्ने अवस्था छ। एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डिआइजी बढुवाका लागि सिफारिस भएपछि ५ एसएसपी रिक्त भएको छ। त्यस्तै एसएसपी प्रकाश रानाभाटले पनि राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ।
एसएसपी बढुवाामा पनि सूचीको पहिलो नम्बरमा रहेका विमल बस्नेत छुट्ने हुन् किन भन्ने डर छ प्रहरी अधिकारीहरूलाई। ‘बस्नेत पनि पटकपटक नेतृत्वको कोपभाजनको सिकार बन्दै आएका छन्,’ एक प्रहरी अधिकारीले भने।
प्रहरीको मनोबल खस्किएको वर्तमान अवस्थामा अब १० दिनमात्र प्रहरी महानिरीक्षकको पदावधि बाँकी रहेका खापुङले पनि झनै मनोबल खस्काउनमात्र भूमिका खेलेको भन्दै प्रहरी अधिकारीहरू निराश भएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































