- नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबीचको एकता वाम घटकलाई बलियो बनाउने र कम्युनिष्ट राजनीति थप परिस्कृत हुने विश्वास गरिएको छ।
- एकताको सहमतिले ६ महिनाभित्र महाधिवेशन गर्ने योजना समाविष्ट गरेको छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ।
- समाजवादीका महेश रेग्मीले अप्राकृतिक एकता भन्दै पुराना नेताको नेतृत्वको आलोचना गर्दै नयाँ पुस्ताको नेतृत्वको आवश्यकतामा जोड दिए।
मोरङ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वासिम आलमले नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबीचको एकताले वाम घटक बलियो हुने बताएका छन्।
उनले माओवादी नै एकीकृत समाजवादीभित्र समाहित हुने हुँदा लामो समयदेखि सक्रिय राजनीतिमा लागेका समाजवादीका नेतालाई समस्या नहुने बताए। समाजवादीको एकतामा माओवादीसहित विभिन्न ८ राजनीतिक दल समाहित हँुदा नेपालको कम्युनिष्ट राजनीति र एकता थप परिस्कृत र बलियो हुने उनको भनाइ छ।
अनेरास्ववियुबाट सक्रिय राजनीतिमा लागेका आलमले कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईसहित ठूलोसंख्यामा नेता–कार्यकर्ता एकताको पक्षमा उभिएको बताए।
उनले भने, ‘एकता आवश्यक थियो, यसमा समाजवादी नै अग्रस्थानमा छ। यो एकताले वाम घटक बलियो हुने निश्चित छ।’
आइतबार भएको एकताको सहमतिले ६ महिनाभित्र महाधिवेशन गर्ने जानकारी दिँदै आलमले भने, ‘६ महिनापछिको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। जसमा युवा समेटिनेछन्।’
उनले अब अग्रज नेता पार्टीको संरक्षकमा रहनुपर्नेमा जोड दिए। उनले भने, ‘माओवादीबाट पुष्पकमल दाहाल र समाजवादीबाट माधवकुमार नेपाल दुवै जनाले नयाँ संरचनासहितको पार्टीको नेतृत्वमा नरहने बताइसक्नुभएको छ। उहाँहरूले पार्टी नेतृत्व युवा टोलीलाई हस्तान्तरण गर्नुहुनेछ।’
त्यस्तै, समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी भने पार्टी एकताको विपक्षमा उभिएका छन्। पुराना नेताले नेतृत्व नछाड्ने प्रवृत्ति देखिएपछि आफूहरू एकताको विपक्षमा उभिएको उनको भनाइ छ। अहिलेको एकता सहजतामा नभएको र अप्राकृतिक भएको भन्दै उनले भने, ‘एकता नाममा मात्र सीमित भयो। एकताको विषयमा गम्भीर रुपमा पार्टीभित्र समेत छलफल हुन सकेन। यसले वाम गठबन्धनलाई जसरी अघि बढाउनुपथ्र्यो त्यो हुन सकेन। अझै पनि नेतृत्वको आशा गरिरहनुभएका पुराना नेता जनताबाट परीक्षण भइसकेका छन्। उहाँहरूबाट पार्टी अघि बढ्न सक्दैन।’
रेग्मीले समाजवादी पार्टीको एक कित्ता आफूहरू एकताबाहिर रहेसँगै मुलुकभर यस एकताको विपक्षमा रहेकाहरूसँग संवाद गर्दै अघि बढ्ने बताए।
उनले भने, ‘अब हामी सबै साथीसँग संवाद र वार्ता गर्छौं। त्यो संवाद एकताबाट असन्तुष्ट माओवादी नेता, विप्लव वा आहुतिसँग पनि हुन सक्छ। उहाँहरू सबैले नयाँ शिराको एकता चाहनुभएको छ, नयाँ पुस्ताको नेतृत्व चाहानुभएको छ।’

भर्खरै
लोकप्रिय






































































































































































































