- दुर्गा प्रसाईंले भारत बसाईं व्यक्तिगत कामका लागि भएको र कुनै राजनीतिक प्रयोजन नरहेको स्पष्ट पारेका छन्।
- उनले मंसिर ७ गतेको आन्दोलन विदेशीको आडमा नभई विशुद्ध नेपाली माटोको हुने बताएका छन्।
- भारतमा काम सकेर चाँडै फर्केर आन्दोलनको तयारी गर्ने भन्दै स्वतन्त्रता र आत्मनिर्भरता प्रमुख लक्ष्य भएको भने।
काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो भारत बसाईं राजनीतिक प्रयोजनका लागि नरहेको बताएका छन्।
मंसिर ७ गतेका लागि आन्दोलन घोषणा गरेका प्रसाईं भारतमा रहेको विषयलाई लिएर विभिन्न कुरा उठेपछि प्रसाईंले आफू कुनै राजनीतिक प्रयोजनका लागि भारतमा नरहेको प्रष्टीकरण दिएका हुन्। ‘म मेरो व्यक्तिगत कामका लागि भारतमा आएको हुँ। यहाँको बसाईं कुनै राजनीतिक प्रयोजन र भेटघाटका लागि होइन्’, उनले भने।
प्रसाईंले मंसिर ७ गतेदेखि हुने आन्दोलन कुनै विदेशीको आडमा नहुने र विशुद्ध नेपालीको हुने बताए। ‘अबको आन्दोलन कसैको इसारामा होइन, यो आन्दोलन नितान्त नेपालीको, नेपाली माटोको र नेपाली आत्मसम्मान र स्वाभिमानको आन्दोलन हुनेछ’, उनले मंगलबार फेसबुकमा लेख्दै भनेका छन्।
उनी २००७ सालमा राणा शासन फाल्ने आन्दोलन होस् वा ०४६ साल अर्थात ०५२, ०६२/६३को आन्दोलन नै किन नहोस् सबैलाई उनी विदेशीको आडमा भएको बताउने गर्छन्।
उनले सनातन हिन्दु राज्य र स्वधर्म पुनर्थापनाका लागि आन्दोलन हुने बताए। ‘मंसिर ७ को आन्दोलन विदेशीको आडमा गर्ने म विश्वास गर्दिन। आन्दोलन बैद्धिक, सनातन हिन्दु राज्य र स्वधर्म पुनर्थापनाको लागि हो। राष्ट्रियता, स्वाभिमानको लागि हो’, उनले भने, ‘आत्मनिर्भरता र स्वतन्त्रताका लागि मेरो आन्दोलन हो।’
भारतमा काम सकेर केही दिनमै फर्किने र आन्दोलनको तयारी गर्ने उनको भनाइ छ।
हालसम्म भएका आन्दोलनबाट देश कहाँ पुग्यो भन्दै उनले प्रश्नसमेत गरेका छन्। ‘सबै आन्दोलनहरूपछि पनि देश कता पुग्यो? के हाम्रो सपना पूरा भयो? कि विदेशी इसारामा चल्ने नेताहरूले देशलाई अझै कमजोर बनाए?’, मंगलबार फेसबुकमा लेख्दै उनले प्रश्न गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































