के फिल्ममेकर मिरा नायरका छोरा बन्लान् विश्वकै शक्तिशाली शहर न्यूयोर्कका मेयर?

के फिल्ममेकर मिरा नायरका छोरा बन्लान् विश्वकै शक्तिशाली शहर न्यूयोर्कका मेयर?
+
-

सम्भवतः यो प्रश्न अहिले विश्वभरका लागि सर्वाधिक चासोको विषय बनेको छ। विश्वको सबैभन्दा शक्तिशाली शहर न्यूयोर्कको सडकदेखि वालस्ट्रिट (आर्थिक साम्राज्य) सम्म र विश्वका हरेक कुनादेखि वासिङ्टनको ह्वाइट हाउससम्म उनको चर्चाले गुन्जिरहेको छ। भारतीय मूलकी चर्चित फिल्ममेकर मिरा नायरका छोरा जोहरान ममदानी अहिले न्यूयोर्क शहरको मेयर पदका लागि डेमोक्रेटिक पार्टीका प्रमुख उम्मेदवारका रुपमा रहेका छन्।

नेपाली समयअनुसार अहिले मेयर पदका लागि मतदान सुरु भइसकेको छ। धेरै सर्वेक्षणहरूले ममदानीलाई जितको सबैभन्दा ठूलो दाबेदारको रूपमा देखाएका छन्। तर, उनको यो यात्रा कुनै ‘फिल्मी कहानी’ भन्दा कम छैन।

उनको समाजवादी एजेन्डाको पक्षमा जति जनसमर्थन जसरी उर्लदो छ, त्यसरी नै अमेरिकी राष्ट्रपतिको कार्यालय र वालस्ट्रिटबाट कडा प्रतिरोधको सामना गरिरहनुपरेको छ।

को हुन ममदानी?


युगान्डामा १८ जुलाई १९९१ मा जन्मिएका ममदानीले बोडिन कलेजबाट अर्थशास्त्रमा ग्र्याजुएसन गरेका छन्। उनी २०१८ मा अमेरिकी नागरिक बनेका थिए। उनी डेमोक्रेटिक पार्टीबाट न्यूयोर्क स्टेट असेम्बलीको सदस्य बनेका थिए भने २०२० मा न्यूयोर्क स्टेट असेम्बलीको चुनाव जितेर सनसनी मच्चाएका थिए।

उनका बुवा महमूद ममदानी हुन्। पिता कोलम्बिया युनिभर्सिटीका प्रोफेसर हुन्। आमा भने भारतीय फिल्म निर्माता मीरा नायर हुन्। नायरको सलाम बम्बे, द नेमसक, मनसुन वेडिङलगायत चलचित्र चर्चित छन्। ममदानीको परिवार युगान्डाबाट क्यानडा पलायन भएको थियो भने त्यसपछि अमेरिका पुगेको थियो।

संगीतदेखि संसद्‌सम्म


राजनीतिमा आउनुअघि जोहरान ममदानी एक हिपहप र्‍यापर थिए। युगान्डामा भाइरल भएको उनको सबैभन्दा चर्चित गीत ‘कान्डा’ थियो, जसमा उनले युगान्डाको राजधानी कम्पालाको जीवन र युवाका चुनौतीहरूलाई देखाएका थिए।

ममदानी भन्छन्, ‘संगीतको माध्यमबाट नै मैले पहिलो पटक समाजमा असमानता र पहिचानको राजनीतिबारे आवाज उठाउनु जरुरी छ भन्ने महसुस गरेँ।’

कलेजपछि क्विन्समा बसाइँ सरेका ममदानीले आप्रवासी, भाडामा बस्नेहरूका अधिकार र ‘ब्ल्याक लाइभ्स म्याटर’ जस्ता आन्दोलनहरूमा सक्रिय रूपमा भाग लिए। सन् २०१७ मा डेमोक्रेटिक पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनले अमेरिकी नागरिकता भने २०१८ मा मात्र लिएका थिए। यद्यपि, उनी २०२० मा न्यूयोर्क स्टेट असेम्बलीमा चुनिए। २०२२ र २०२४ मा त उनले निर्विरोध जित हासिल गरे।

असेम्बलीमा रहँदा उनले आम मानिससँग प्रत्यक्ष जोडिएका मुद्दाहरू उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो। विशेषगरी उनले ल्याएको ‘रेन्ट क्याप’ (भाडा वृद्धि रोक्ने) सम्बन्धी विधेयकले मध्यमवर्गीय र आप्रवासी समुदायमाझ उनको बलियो पकड बनायो।

मेयरको दौडमा जब उनले धुरन्धरलाई पछि पारे


यो चुनाव तीन प्रमुख उम्मेदवारबीचको बलियो लडाइँका रुपमा विकास भएको छ। ममदानी ‘डेमोक्रेटिक सोसलिस्ट’ कित्ताबाट आएका, जसको एजेन्डाले तल्लो र मध्यम वर्गलाई मुख्य आकर्षित गरेको छ। एन्ड्रयू कुओमो जो उनीसँगै मेयरको चुनावमा टिकटका लागि डेमोक्रेटबाट लडे तर उनीसँगै पछि परेपछि आधिकारिक उम्मेदबार हुन सकेनन्। तर, उनले स्वतन्त्र उम्मेदवारी दिए। न्यूयोर्कका पूर्व गभर्नरसमेत रहेका उनी आफ्नै डेमोक्रेटिक पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा लडिरहेका छन्। उनी ममदानीको कट्टर आलोचक हुन्। उनलाई ट्रम्पको समर्थन रहेको छ।

त्यस्तै, कर्टिस स्लिवा उनलाई टक्कर दिने अर्का दाबेदार हुन्। ‘गार्जियन एन्जल्स’का संस्थापक, जो एक रूढीवादी उम्मेदवार मानिन्छन्। सर्वेक्षणमा कुओमो र स्लिवा ममदानीभन्दा निकै पछाडि देखिए पनि उनीहरूले ममदानीमाथि कडा प्रहार गरिरहेका छन्। पूर्व गभर्नर कुओमो भन्छन्, ‘ममदानीका नीतिहरू यति खतरनाक छन् कि यदि उनी जिते भने शहरका व्यवसायहरू तहसनहस हुनेछन्।’ यसको जवाफमा ममदानीले कुओमोलाई ‘ट्रम्पको कठपुतली’ करार दिने गरेका छन्।

स्वतन्त्र उम्मेदवार स्लिवाले भने दुवैलाई व्यङ्ग्य गर्छन्। गत महिनाको बहसका क्रममा उनले भनेका थिए ‘जोहरान, तिम्रो बायोडाटा एउटा न्यापकिनमा अटाउँछ, र एन्ड्रयू, तिम्रा असफलताहरूले पूरै पुस्तकालय भरिन्छ।’

न्यूयोर्कको जटिल मतदान प्रणाली


न्यूयोर्क मतदान प्रणालीलाई जटिल मानिन्छ। यो शहरमा र्याङ्क च्वाइस भोटिङ’प्रणाली लागू छ। यसको अर्थ हो मतदाताले कुनै एक उम्मेदवारलाई मात्र भोट दिँदैनन्, बरु आफ्नो मनपर्ने उम्मेदवारलाई क्रमागत रुपमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा राख्छन्।

जित्नका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी भोट पाउनै पर्छ। यदि पहिलो रोजाइको भोट गणना गर्दा कसैले पनि ५० प्रतिशत पाएनन् भने सबैभन्दा कम भोट पाउने उम्मेदवारको दौडबाट बाहिरिन्छ। त्यसपछि, बाहिरिने उम्मेदवारले पाएको भोट, मतदाताको दोस्रो रोजाइको आधारमा अन्य उम्मेदवारहरूलाई बाँडिन्छ। यो प्रक्रिया कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी भोट नपाएसम्म जारी रहन्छ। यही कारणले हुलाक र अनुपस्थित मतहरूको गणना पछि हुने हुँदा अन्तिम नतिजा आउन करिब १ हप्ता लाग्न सक्ने जनाइएको छ।

के छन् ममदानीका वाचा?

ममदानीको चुनावी एजेन्डा सिधै आममानिसको दैनिक जीवनसँग जोडिएको छ। उनी न्यूयोर्कलाई यस्तो शहर बनाउने वाचा गरिरहेका छन्, जहाँ हरेक व्यक्तिले सम्मानजनक र सुरक्षित जीवन जिउन सकोस्। घर भाडा ‘फ्रिज’ गर्ने अर्थात भाडामा बस्नेहरूमाथि महँगीको बोझ नपरोस्। सबैका लागि निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन, जसले कामकाजी वर्ग र विद्यार्थीहरूलाई ठूलो राहत दिने विश्वास गरिन्छ।

त्यस्तै, सरकारी किराना पसलहरू खोल्ने जसले अत्यावश्यक वस्तुहरू सस्तो मूल्यमा उपभोक्ताले प्राप्त गरुन्। साथै निःशुल्क डे-केयर (शिशु स्याहार) केन्द्रहरु बनाउने जहाँ कामकाजी परिवारहरूलाई ठूलो राहत महसुस हुनेछ।

उनले यो सबका लागि पैसा कसरी जम्मा गर्छन् त? ममदानीको योजना स्पष्ट छ, उनी भन्छन्, ‘ठूला कर्पोरेसन र शहरका सबैभन्दा धनी व्यक्तिहरूमाथि नयाँ करनीति लागुगर्ने छन्। यसबाट करिब ९ अर्ब डलर जम्मा गर्न सकिने उनको अनुमान छ।

आक्रोशित छन् ट्रम्प


ममदानीको यही ‘डेमोक्रेटिक सोसलिस्ट’ एजेन्डाले वालस्ट्रिट र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबैभन्दा बढी चिढ्याएको छ। जब ममदानीले डेमोक्रेटिक प्राइमरी जिते, वालस्ट्रिटमा चिन्ता बढेको थियो। धेरै व्यवसायीले शहर छोड्ने धम्कीसमेत दिएका थिए। राष्ट्रपति ट्रम्पले ममदानीलाई ‘पागल कम्युनिस्ट’ भन्दै गाली गर्ने गरेका छन्। उनले मतदानअघि पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई आधिकारिक समर्थन गरेका छन्।

साथै ट्रम्पले फन्डिङ रोक्ने धम्कीसमेत दिएका छन्। उनले न्यूयोर्कका मतदाताहरूलाई खुलेआम चेतावनी दिए। ‘कम्युनिस्ट ममदानीले जिते भने, यो शहरसँग सफलता वा बाँच्ने कुनै मौका हुने छैन। म राम्रो पैसालाई नराम्रोमा हाल्न चाहन्न,’ उनले भने।

ट्रम्पले यदि ममदानीले जितेमा न्यूयोर्क शहरलाई दिइने संघीय कोष कटौती गरेर न्यूनतम आवश्यक रकम मात्र पठाउने धम्की दिएका छन्।

किन महत्त्वपूर्ण छ यो पद?


न्यूयोर्कको मेयर हुनु भनेको कुनै सामान्य शहरको प्रमुख हुनु मात्र होइन। यो अमेरिकाको सबैभन्दा प्रभावशाली राजनीतिक पदहरूमध्ये एक हो। त्यसो त न्यूयोर्क शहरको वार्षिक जिडिपी करिब २.३ ट्रिलियन डलर छ, जुन लगभग पूरै भारतको जीडीपीको आधाभन्दा बढी हो।

साथै मेयरले शहरको प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीमाथि प्रत्यक्ष नियन्त्रण राख्छ। यो एक ‘मिनी-प्रधानमन्त्री’ जस्तै भूमिका हो। साथै यहाँ वालस्ट्रिट (आर्थिक राजधानी), संयुक्त राष्ट्र संघको मुख्यालय र विश्वका प्रमुख मिडिया कम्पनीहरूको हव छन्। साथै विश्वभर प्रभाव राख्ने गुगल, मेटा, अमेजनको हेडक्वार्टरसमेत रहेको छ। यो शहरमा करिब ४५ लाख मानिसहरु काम गर्ने गर्छन्। यहाँको जमिन विश्वकै सर्वाधिक महँगोमध्येमा पर्ने गर्छ। यो शहरमा विश्वका करिब १८० भन्दा बढी देशका मानिसहरु बसोबास गर्छन् भने २०० भन्दा बढी भाषा बोलिन्छ।

ममदानीले जितेमा १ सय ११ औँ मेयर


यदि ममदानीले जितेमा उनी न्यूयोर्क शहरका १११औँ मेयर बन्ने छन्। साथै, उनी पछिल्लो १०० वर्षयताकै सबैभन्दा युवा, पहिलो भारतवंशी र पहिलो मुस्लिम मेयर बनेर इतिहास रच्नेछन्। साथै उनले न्यूयोर्क शहरको १०० अर्ब डलरको बजेटको नियमन र कानुन बनाएर खर्च गर्न पाउने छन्। उनको आदेशमा ट्याक्सको पैसा कहाँ खर्च गर्ने भन्ने तय गर्नेछन्।

यो चुनाव केवल एक शहरको नेतृत्व चयन मात्र होइन, यो कर्पोरेट शक्तिविरुद्ध आम मानिसको नीति र ट्रम्पको राष्ट्रवादविरुद्ध ममदानीको समाजवादबीचको जनमतसंग्रह बनेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’