चीन र नेपालबीचको मैत्री पुल निर्माण एक वर्षअघि सम्पन्न भए पनि अझै सञ्चालनमा आएको छैन।
प्रशासनिक प्रक्रिया सुस्त भएकाले पुल सञ्चालनमा ढिलाइ भएको र यो विषयमा चीनले जानकारी दिएको छ।
पुल नचल्दा हिल्साबाट ताक्लाकोट जाने यात्रुहरूले पैदल यात्रा गरी भारी बोक्न बाध्य भएका छन्।
हुम्ला- नेपाल र चीनको सिमानास्थल हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष बितिसक्दा पनि मैत्री पुल सञ्चालनमा आउन सकेको छैन। चिनियाँ पक्षले निर्माण कार्य सम्पन्न गरे पनि पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नभएकाले हालसम्म सञ्चालनमा आउन नसकेको हो।
हिल्सामा गत वर्ष मङ्सिर महिनामा निर्माण कार्य सम्पन्न भएको थियो। नेपाल–चीन सिमानामा कर्णाली नदीमाथि बनेको उक्त मैत्री पुल अहिले पनि सञ्चालनमा आउन सकेको छैन। यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार पुल सञ्चालनमा ढिलाइ हुनुको कारणबारे चीनको हिल्सा कस्टमका अधिकारीसँग जिज्ञासा राख्दा, आवश्यक प्रशासनिक प्रक्रिया केन्द्रमा पठाइसकेको र त्यसमा काम अगाडि बढिरहेको जानकारी आएको बताए।
पुल सञ्चालनमा नआएकाले हाल हिल्साबाट ताक्लाकोट जाँदा र फर्कदा मानिसहरूलाई पैदल भारी बोकेर नदी पार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। नेपालको तर्फबाट पुल निर्माण कार्यमा समन्वयको जिम्मेवारी पाएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले पनि पुल सञ्चालनबारे आफूलाई कुनै जानकारी नआएको बताए। उनका अनुसार चिनियाँ पक्षबाट पनि अहिलेसम्म कुनै औपचारिक सूचना प्राप्त भएको छैन।
एक सय बीस मिटर लामो सो मैत्री पुलको सम्पूर्ण निर्माण कार्य पूरा भइसकेको भए पनि हालसम्म त्यही अवस्थामा छ। पुल सञ्चालनमा ल्याउन चाँडो पहल गरिने अपेक्षा गरिएको छ।
सो पुलको निर्माण कार्य चिनियाँ पक्षले एक वर्षभित्र सम्पन्न गर्ने योजना बनाएको भए पनि मात्र छ महिनामै निर्माण कार्य पूरा गरेको थियो। पुल निर्माणका क्रममा चिनियाँ पक्षले नेपाली भूमिको अन्तिम बिन्दुबाट करिब साढे तीन सय मिटर लम्बाइ र आठ मिटर चौडाइको कालोपत्रे सडक पनि निर्माण गरेको थियो। उक्त सडकको काम भदौ महिनामा चौध दिनमै सम्पन्न गरिएको थियो।
तर, हाल हिउँदे मौसम सुरु भइसकेकाले यस हिउँदे अवधिभित्र पुल सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































