- गायक विष्णु भट्टको ‘तानी लान्छु ओय झुम्की’ गीत टिकटकमा भाइरल भएपछि उनको उत्साह बढेको छ।
- ६ वर्षअघि खासै प्रचारप्रसार नभएको यो गीतलाई अहिले सामाजिक सञ्जालमा उच्च लोकप्रियता मिलेको छ।
- नयाँ पुस्ताबीच लोकपि्रय हुँदै गएको गीतले युट्युबमा छ लाखभन्दा बढी भ्युअर्स प्राप्त गरेको छ।
तिहारको माहोल थियो। गायक विष्णु भट्ट पनि तिहारकै रन्कोमा थिए। यस्तैमा सुदूरपश्चिका चार जना बहिनीहरुले हातमा हात समाएर नाचेको भिडियो देखे। त्यो भिडियोले उनलाई खुब तान्यो। भट्टले ६ वर्ष सार्वजनिक गरेको गीत ‘तानी लान्छु ओय झुम्की’ बोलको गीतको पिस ‘चालिसै कटेको ढुंगो…मा ती बहिनीहरूले गाउँदै नाचेका थिए। ६ वर्ष अघि चर्चा नपाएको गीतमाथि बनेको टिकटकले उनलाई हौसला दियो। स—सानो उपलब्धीमा खुसी हुने स्वभावका भट्टले गीतलाई आफ्नो सामाजिक सञ्जालमा शेयर गरे। ‘६ वर्ष अघिको गीतमा कसैले टिकटक बनायो। थप केही बन्लान् अनि हराउँछ भन्ने लागेर धेरै उत्साहित हुन सकिनँ,’ गायक भट्टले भने, ‘६ वर्ष पछाडि आएर मान्छेको नजरमा पर्यो। यो नसोचेकै भयो।’
गीतका अनेक पिसमाथि टिकटक बन्ने क्रम रोकिएको छैन। अहिले सामाजिक सञ्जालमा ६ वर्षअघि कसैले नरुचाएकाे गीत एकाएक भाइरल हुन्छ भनेर गायक भट्टले समेत चिताएका थिएनन्। ‘मेरो लागि त्यो बेला जसोतसो गीत निकाल्नु ठूलो कुरो भएको थियो। पब्लिसिटी गर्न सकिएन। युट्युब च्यानल एभरेष्ट ग्यालेरीले पनि खासै प्रचारप्रसार गर्न सकेन। तर ती बहिनीहरूले गाउँदै नाचिदिए यता गीत भाइरल भएको छ। अचम्मै लागेको छ,’ भट्टले भने।
धान पाके धान्सरलाई
कति कर तिर्ने हाे भन त्याे मनकाे भन्सारलाई ।।
डोट्याली भाषा समेटेर बनाएको यो गीत बनाउने भट्टले चुनौती मोलेकै हुन्। सुदूरपश्चिम डोटी स्थायी घर भएका भट्टले डोट्याली भाषा रोजे। आफ्नै मातृभाषामा केही नयाँ गर्न मन भएपछि उनलाई सघाए गीतकार प्रहरी जवान उमेश कठायतले। परम्परागत देउडालाई आधुनिक (मोर्डन) कम्पोज गरे। गीत बनिगयो। उनले गाइहाले। गीत बजारमा ल्याए। तर चलेन। सबै गीत कहाँ चल्छन् र भनेर उनले चित्त बुझाए। भन्छन्, ‘राम्रो सिर्जना कसो नचल्ला र भन्ने सोचेर बनाएको थिएन तर त्यो बेला चल्न सकेन। दर्शक स्रोताको मन जित्न नसकेकोप्रति आफू निराश भएको थिएँ। तर काम गर्न छोडिनँ। अहिले आएर नयाँ कामले भन्दा पनि पुरानै कामले पो चिनायो। दर्शकले ६ वर्षपछि माया देखाए। अहिले हिट भएको त दर्शकस्रोताकै मायाले हो।’

गायक विष्णु भट्ट
पिरतीकाे फैसलामा दाइने हुनु भाे हाेला
तानी लान्छु ओय झुम्की जसाे हाेला हाेला ।।
नयाँ पुस्ताबीच लोकप्रिय हुँदै गएको यो गीतमा गायिका रचना रिमाल, गायिका रेखा जोशीले पनि टिकटक बनाएकी छन्। गायकगायिकाको रोजाइमा समेत परेको यो गीत गीत प्रेम कथामा आधारित छ। देउडा शैली भएकोले कतियले गीत नबुझे पनि रमाउँदै टिकटक बनाएका छन्। भट्टका अनुसार एक सातामै लाखौं टिकटकरले उक्त गीतको टुक्कामा भिडियो बनाएका छन् र युट्युबमा पनि गीतले छ लाखभन्दा बढी भ्युज बटुलेको छ।
कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । सृष्टि खड्का र सुरज मल्ल र कैलाश कठायतले अभिनय गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































