- नेपाली कांग्रेसले ८० वर्षे प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहास बनाउँदै जनताको विश्वास जित्न सफल भए पनि हालको राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्व पार्टीको कमजोरी बनेको छ।
- विभिन्न संवेदनशील मुद्धाहरूमा जनभावनालाई सम्बोधन गर्न नसकेको, सत्ता मोहमा बसेको र विशेष महाधिवेशनको बहशमा व्यस्त रहँदा पार्टी जनताको निशानामा परेको देखिन्छ।
- संविधानको संशोधन, राजसंस्थाको सान्दर्भिकता र वैदिक सनातन हिन्दूराष्ट्रको पुनःस्थापनामा ध्यान दिन राजनीतिक विचारधारा र रणनीति पुनःनिर्माणको आवश्यकता रहेको छ।
नेपाली कांग्रेस मुलुक र विश्वकै ऐतिहासिक चरणमा जन्मिएको पार्टी हो । नेपाल कहिल्यै कसैको उपनिवेश थिएन र रहेन । यो हाम्रा तत्कालीन शासकहरूको कुशल सोच, नीति र सन्तुलित कूटनीति सञ्चालनको कारणले थियो । हाम्रो शौर्य, बहादुरी, इमान्दारी र पराक्रम विश्वमै सुपरिचित एवम् सम्मानित थियो । यो गौरवशाली इतिहासको महत्वपूर्ण कालखण्ड अर्थात दोस्रो विश्वयुद्ध यता भारत लगायत दक्षिण एसियाका सबै मुलुकहरू उपनिवेशको युगबाट मुक्त हुन स्वतन्त्रताको संघर्षमा होमिएका थिए । नेपाली कांग्रेस स्थापना हुनु भन्दा पूर्व हाम्रा अग्रज नेताहरू स्वतन्त्रता र सार्वभौमसत्ताको व्यापक मान्यता र गहनताप्रति समर्पित भई भारतको स्वतन्त्रता संग्राममा सहभागी भई नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको चेतना जगाउन लागिपरेका थिए । यसरी हाम्रा प्रातःस्मरणीय नेताहरूले हामीलाई नेपालमा प्रजातन्त्र, राष्ट्रियता र सार्वभौमसत्ताको अर्थ वोध गराएका थिए । यस्तो चेतनाको उच्च स्तर र गौरवमय इतिहास भएको पार्टी हो नेपाली कांग्रेस ।
नेपाली कांग्रेस देशको प्रमुख प्रजातान्त्रिक राजनीतिक दल मात्र होइन, यो देशको राष्ट्रिय राजनीतिकै प्रमुख शक्ति पनि हो भन्ने कुरालाई देश–विदेशका सबै राजनीतिक दल र शक्तिले राम्रोसंग स्वीकार गर्दछन् । ०७ सालको जनक्रान्तिको सफल नेतृत्व, ०४६ साल र ०६२/०६३ सालको जन–आन्दोलनको सफल नेतृत्व गर्दै, प्रजातान्त्रिक मूल्य, देशको स्वार्थ, राष्ट्रियताको सवालहरूमा कांग्रेसले राख्ने दह्रो अडान र ८ दशक लामो प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहास निर्माण गरेको कारणले नै नेपाली काँग्रेस देशको आम जनताले भरोशा गर्ने प्रमुख राजनीतिक शक्ति वन्न सफल भएको थियो ।
देशको वर्तमान अर्थात इतिहास र भविष्यको कडी हो । त्यसैले आज हामीले निकै गंभीर भएर सोच्नु पर्ने, मनन गर्नु पर्ने वेला आएको छ, त्यो हाम्रो गौरवशाली इतिहास र हामीले चाहेको स्वर्णिम भविष्य, हाम्रा प्रातः स्मरणीय नेताहरूले देखेको सुन्दर भविष्यका लागि उपयुक्त वर्तमान निर्माण गरी रहेका छौं त हामीले ? हामी सही बाटोमा हिडिरहेका छौं या बाटो विराई रहेका छौं ? यो प्रश्नको उत्तर खोज्ने र सही दिशा पहिल्याउन सामुहिक र संस्थागत चेष्टा नगर्ने हो भने हाम्रो पुस्ता कायर मात्र हैन, भावी पुस्ताको नजरमा अपराधी सावित हुनेछौं । हाम्रा बाजे–बराजुहरूले, हाम्रा राष्ट्रनिर्माता र बीरहरूले वुझाएको नेपालको विरासत थाम्न नसक्ने नालायक ठहरिने छौं, हामी ।
नेपालले विगतमा छिमेक र विश्व घटनाबाट सँधै पाठ सिकेको छ । हाम्रा श्रद्धेय नेता बीपी कोइरालाले प्रजातन्त्र स्थापनाको संघर्षकै क्रममा विषम परिस्थितिमा ‘‘राष्ट्रिय एकता र मेलमिलापको नीति’’ नेपाली कांग्रेसका लागि मात्र हैन, मुलुकको शान्ति, प्रजातन्त्र, स्थायित्व र सार्वकालिक विकाशको मार्ग निर्देशक राष्ट्रिय मान्यताको रूपमा प्रस्तुत गरी आठ वर्ष लामो कठोर निर्वासित जीवन समाप्त गरी स्वदेश फर्कनु भयो । यस प्रसङ्गमा मैले सर्वाच्चनेता गणेशमान सिंहको नाम किन उल्लेख गरिन भन्नु होला । त्यो राष्ट्रिय चिन्तन र नीति रचनाको साझा अनुहार हुनुहुन्थ्यो उहाँ बीपीसंग । कार्यवाहक सभापतिका हैसियतमा मात्र हैन, दुई महान नेताहरूको स्वर्गारोहण पछि अनि नेपाली कांग्रेसले ऐतिहासिक भुल गरे पछि सन्तनेता किसुनजीले ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता’ लाई आयातित ऐजेण्डा भन्दै उहाँ आँफैले स्थापना गरेको पार्टी भारी मन लिएर परित्याग गर्नुभयो । माओवादीको बी. टिम वनेर आफ्नो राजनीतिक भविष्य खोज्ने १२ बुँदे षडयन्त्रमा सामेल भएर हामीले आफ्नै गौरवशाली इतिहाससंग सम्झौता ग¥यौं । र वर्तमानमा हामीले इतिहासले सुम्पेको नेतृत्वदायी भूमिका गुमायौं, अरूलाई वुझायौं ।
देशको आवश्यकता र जनभावनालाई ख्याल राखेर नेपाली कांग्रेस ठिक बाटोमा हिंडेको भए आज नेपाली कांग्रेस जनताको निशानामा पर्दैन थियो ।
क्रान्ति र आन्दोलनबाट प्रजातन्त्र स्थापना र पुनःस्थापना गरी राजनीतिक परिवर्तन गर्न नेपाली कांग्रेस हमेशा सफल रहँदै आए पनि परिवर्तन पछि त्यसलाई उचित व्यवस्थापन गर्दै संस्थागत गर्न र राम्रोसंग शासनसत्ता सम्हालेर देशलाई समृद्धि र नयाँ दिशा तर्फ डोहोर् याउन नेपाली कांग्रेस चुक्दै आएको कुरालाई हामीले स्वीकार गर्नै पर्छ। जनताले पटक–पटक दिएको जनादेशलाई सम्हाल्दै ५ वर्षसम्म सरकार चलाउन हामी पटक–पटक असफल वन्यौं । पार्टीको सिद्धान्तहीन आन्तरिक द्वन्द्व र घर झगडालाई व्यवस्थापन गर्न असमर्थ वन्दा राष्ट्रिय राजनीतिमा सोचे अनुसार काम गर्न हामी चुक्यौं । नेपाली कांग्रेस जनताको सबैभन्दा विश्वास र भरोशाको पार्टी हुँदाहुँदै पनि ०४६ सालको राजनीतिक परिवर्तनबाट देशमा बहुदलीय प्रजातन्त्र स्थापना भएदेखि नेपाली काँग्रेसले जनताको भरोशा र विश्वासलाई जितेर सरकार र पार्टी सञ्चालनमा निरन्तर चुकेकै कारण देशमा राजनीतिक अस्थिरताको नयाँ श्रृंखला प्रारम्भ भएको हो । त्यसकै पृष्ठभूमिमा माओवादी हिंशा र आतङ्कको क्रम शुरू भयो । देशलाई माओवादी हिंशा र आतङ्कबाट मुक्त गर्दै शान्ति स्थापना गर्न नेपाली कांग्रेसले लिएको अग्रसरता स्वागत योग्य हुँदाहुँदै पनि त्यससंगै शान्ति प्रक्रिया र संविधान सभाबाट संविधान निर्माणको चरणसम्म आइपुग्दा हामीले हाम्रा स्थापनाकालिन सिद्धान्त (फाउण्डिङ्ग प्रिन्सिपल), बीपी कोइरालाको राजनीतिक दर्शन र ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ को मर्म विपरित, सर्बोच्चनेता गणेशमान सिंह र सन्तनेता किसुनजीले पछ्याएको बाटोलाई पर्वाह नराखी सत्ता स्वार्थबाट अभिप्रेरित भएर हिंडेको परिणाम नै आजको यो अवस्थाको नेपाली कांग्रेस हो भन्ने कुरालाई स्वीकार गर्नै पर्छ ।
देशको आवश्यकता र जनभावनालाई ख्याल राखेर नेपाली कांग्रेस ठिक बाटोमा हिंडेको भए आज नेपाली कांग्रेस जनताको निशानामा पर्दैन थियो । भाद्र २३ र २४ को जनविद्रोहबाट नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सहित जर्दनौ जिल्ला कार्यालयहरूमा तोडफोड र आगजनी भयो । पार्टी सभापति सहितको पार्टीका कयौं नेताको घर आगजनी र तोडफोड भए । नेपाली कांग्रेसको सभापति सहित उहाँको धर्मपत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवामाथि सांघातिक आक्रमण भयो । यी सबै घटना किन घटे? कांग्रेस किन जनताको निशानामा प¥यो ? नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति वैठकले यस विषयमा गहिरोसंग समीक्षा गर्नु आवश्यक छ ।
२३ भाद्रको नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई नेपाली कांग्रेसको प्रमुख हिस्सेदारी रहेको सरकारले नियन्त्रण गर्नुको वदला दमन गर्न खोज्दा त्यस दिन झण्डै २ दर्जन युवा विद्यार्थीहरूको दुःखद् हत्या भयो । देशको राजधानीमा त्यति ठुलो परिणाममा नरसंहार हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएनन् । ओली हठले प्रधानमन्त्री पदबाट राजिनामा नदिए पनि नेपाली कांग्रेस त सरकारबाट वाहिर निस्कन सक्थ्यो । त्यो गंभीरता र थोरै दुरदर्शिता समेत नेपाली कांग्रेसले देखाउन सकेन । नेपाली कांग्रेसले मात्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट वाहिरिएको भए ओली सरकार पतन हुने थियो र २४ भाद्रमा देशले त्यति ठुलो जन–धनको क्षति व्यहोर्न पर्ने थिएन । नेपाली कांग्रेस नेतृत्वमा व्याप्त चरम सत्ता मोह, अदुरदर्शिता र लापर्वाहीको कारणले पनि देशले त्यति ठुलो क्षति व्यहोर्नु प¥यो । यो राजनीतिक यथार्थलाई कांग्रेसले नछोपिकन स्वीकार गर्नै पर्छ, त्यसको समुचित समीक्षा र मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
प्रजातन्त्रको लागि ८ दशक लडेको देशको प्रजातान्त्रिक आन्दोलनको एकमात्र आधिकारिक शक्तिको (अथोरिटी) हैसियत वनाएको नेपाली कांग्रेसले शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा जनभावनाको ख्याल गरेन । त्यसो गर्दो हो त ०६३ जेष्ठ ४ गतेको पुनःस्थापित संसदबाट हिन्दूराष्ट्र खारेज गरी देशलाई जवरजस्तसंग धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न कांग्रेस तत्पर हुने थिएन । पार्टीको पछिल्लो महासमिति वैठकमा मेरो नेतृत्वमा रहेको ‘नेपाली कांग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान’ को तर्फबाट बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेर महासमिति वैठकमा मैले टेवुल गरेको र वैठकमा महासमिति सदस्यहरूको कर्तलध्वनीबाट अनुमोदन गरेको संविधानबाट धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थालाई खारेज गरेर देशलाई धार्मिक स्वतन्त्रता सहितको वैदिन सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गर्न राखेको विशेष प्रस्तावलाई पार्टीले अनादर गर्ने थिएन । ९४ प्रतिशत ओमकार परिवारका नागरिक वसोवास गर्ने देशको बहुमत जनताको भावना विपरित उभिएर नेपाली कांग्रेस कसरी लोकप्रिय राजनीति गर्न सक्छ ? यो अत्यन्त संवेदनशील मुद्धामा पार्टी कहिलेमम्म मौन वस्ने ? अब कांग्रेसले जनभावना वमोजिम धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा उभिएर मात्र यसको जवाफ दिन सक्छ । हेक्का रहोस्, समय छँदै यो मुद्धामा नेपाली कांग्रेसले यसरी नै लापरवाही गर्दै रहे ठुलो मूल्य चुकाउनु पर्ने निश्चित छ ।
देशको जटिल राजनीतिक अवस्थामा हामीले पुरानै राजनीतिक अडान र मुद्धालाई जस्ताको तस्तै वोकेर आम सहमतिको राजनीतिको अभिभारा निर्वाह गर्दै विगतमा जस्तै राष्ट्रिय राजनीतिको अविभावकीय भूमिका निर्वाह गर्न सक्दैनौं जन अपेक्षा अनुसार देशलाई राजनीतिक निकास दिन सक्दैनौं ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति वैठकमा अहिलेसम्म धारणा राख्नु हुने पार्टी केन्द्रीय कार्यसमितिका प्रायः जसो साथीहरू देशको गंभीर राजनीतिक अवस्थाप्रति वेखबर जस्तै देखिनु भएको छ, अहिलेसम्म वोल्ने कार्यसमिति सदस्यहरूमा समयोचित गंभीरता देखिको छैन । उहाँहरू पार्टीको विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहशमा मात्र व्यर्थसंग समय वेतित गरिरहनु भएको छ । पार्टीको नियमिति महाधिवेशनको विकल्प छैन तर त्यो भन्दा पनि महत्वपूर्ण विषय पार्टीको अवको कार्यदिशा के हुने ? पार्टीको विचार, सिद्धान्त र नीति के हुने ? भन्ने विषय महत्वपूर्ण हो । तर यस तर्फ पार्टी नेतृत्वको ध्यान कत्ति पनि गएको देखिंदैन । भाद्र २३ र २४ को जेनजी विद्रोह पछि पार्टीका पदाधिकारीरूको विचार अभिव्यक्ति र वक्तव्यमा देशको जटिल राजनीतिक अवस्थालाई संवोधन गरेको देखिंदैन । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति श्री गोपालमान श्रेष्ठले सार्वजनिक मेडिया मार्फत देशको गंभीर अवस्थाको चित्रण गर्दै, ‘निषेधको राजनीति छोडेर देशको वर्तमान जटिल राजनीतिक अवस्थाबाट देशलाई निकास दिन नेपाली कांग्रेसले राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल, जेन–जी आन्दोलनकारी र फरक मत राख्ने सबै प्रकारका शक्तिलाई समेटेर सर्वपक्षीय राजनीतिक संवादको पहल गर्न’ दिनु भएको सुझावलाई नेपाली कांग्रेसको जारी कार्यसमिति वैठकले गंभीरतापूर्वक ग्रहण लिन आवश्य छ ।
नेपाली कांग्रेसले अब संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र लगायत संविधानको मूलभुत मुद्धाहरूलाई जस्ताको तस्तै बोकेर अगाडि बढ्न सक्दैन । भाद्र २३ र २४ यताको विकसित राजनीतिक परिवेशमा हामी अझै पनि संघीयता, धर्म निरपेक्षता, गणतन्त्र लगायत विषयलाई काँघमा वोकेर हिड्ने प्रयास गरिरहेका छौं, यो सर्वथा अनुचित छ । १४ महिना पहिले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदार गर्न दुई दल बीच भएको ७ बुँदे समझदारीको एउटा प्रमुख बुँदा नै संविधान संशोधनको मुद्धा थियो तर हामीले १४ महिनासम्म संविधान संशोधनको ‘स’ समेत उच्चारण गरेनौं । यो जनताप्रति गरिएको ठुलो धोका थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी वैठकले अब कुनै राजनीतिक सर्त वा विगतमा जस्तै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि जडवादी अडान राखेर होइन, पहिले राष्ट्रियता, देशभक्तिको भावनालाई अगाडी सारेर, देशका सबै राजनीतिक दल र शक्तिलाई साथमा लिएर अगाडी बढेमात्र नेपाली कांग्रेसले राजनीतिक निकास दिन सामर्थ्य राख्छ । शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा जस्तै देशको एउटा महत्वपूर्ण परम्परागत शक्ति राजसंस्थालाई पन्छाएर निकास खोज्नुको औचित्य रहन्न । कांग्रेसले अब कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखी राजनीतिक मुद्धाहरूमा खुल्ला भएर अगाडी बढ्नु पर्छ भन्ने मेरो स्पष्ट धारणा रहेको छ । यसै वमोजिम पार्टीले निर्णय गरेर आफ्ना नीति र कार्यदिशा निर्धारण गरेर अगाडी बढ्नु पर्छ भन्ने कुरा यो कार्यसमिति वैठकमा जोडदारसँग राख्दछु।
संविधान सभाले असंवैधानिक एवम् अदूरदर्शी तरिकाले समाप्त गरिएको राजसंस्थाको सान्दर्भिकता सवभन्दा बढि स्थापित भएको छ ।
सत्ता स्वार्थ र शक्तिका लागि हाम्रो ध्यान केन्द्रीत रहँदा नेपाली कांग्रेस जस्तो जिम्मेवार प्रजातान्त्रिक ऐतिहासिक दलले देशको गंभीर राजनीतिक अवस्था माथि गहिरोसंग ध्यान दिनबाट चुकेको कुरालाई स्वीकार गरौं । जनतामा हामीप्रति व्यापक निराशा छ भन्ने कुराप्रति अलिकति पनि हाम्रो ध्यान गएन । सत्तामा छौं, महत्वपूर्ण मन्त्रालय सहित सरकारमा हाम्रो हिस्सा छ तर हामीलाई २३ र २४ गतेको घटनाको अलिकति भनकसम्म भएन । ०४६ सालदेखि विभिन्न संवैधानिक हैसियतका सरकारको नेतृत्व हामीले नै गरेका छौं कि त सरकारको महत्वपूर्ण हिस्सेदारीमा छौं । पछिल्लो सरकारमा वसेर, निकै लामो तयारीकासाथ गरिएको २३ गतेको जेन–जी प्रदर्शन र २४ गतेको विध्वंशकारी घटना हुँदा हामीले कुनै पत्तो पाउन सकेनौं । यो हाम्रो निकम्मापन थियो कि सत्ता र सिङ्गो प्रणालीको असफलता ? के हो ? यस विषयमा पार्टीले गहिरोसंग छलफल गरेर निक्र्योल ननिकाल्ने हो भने ? हामी हाम्रो भविष्यको राजनीतिक बाटो कसरी तय गर्न सक्छौं ? यी सबै राजनीतिक घटना र त्यस पछिको देशको राजनीतिक विकाशक्रमलाई नियालेर हेर्दा देश सामान्य राजनीतिक गतिबाट हिंडेको छैन । हामीले वुद्धि र विवेक पु¥याएर गंभीरतापूर्वक राजनीतिक कदम चालेनौं भने देशको राजनीति त डरलाग्दोसंग सङ्कटको भुमरीमा परी नै सक्यो, निश्चित छ, नेपाली कांग्रेस पनि त्यो सङ्कटको भुमरीबाट मुक्त हुने छैन । देशको यस्तो गंभीर राजनीतिक अवस्थामा पार्टीले दलीय स्वार्थ भन्दा माथि उठेर देशप्रेमको भावनाबाट निर्मम ढङ्गले निर्णय निले वेलामा पार्टीले महाधिवेशन कहिले गर्ने ? विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर लडेर बस्ने वेला अवश्य होइन । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य साथीहरू देशको भविष्यलाई ख्यालमा राख्दै गंभीर भएर छलफल गरौं, देशको हितमा उचित निर्णय गरौं।
मैले माथि नै जोड दिएर भनिसकेको छु कि हामी गंभीर राजनीतिक मोडमा उभिएका छौं । बीपी कोइरालाले आफ्नो जीवनको अन्तिम दिनहरूमा देशको भविष्यप्रति चिन्ता लिनुभए जस्तै देश अहिले संकटको डिलमा उभिएको छ । देशका सबै राजनीतिक दल र राजनीतिक शक्तिहरूले नेपाली कांग्रेसको वैठकले के निर्णय गर्छ ? शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा कांग्रेसले गरेको गल्ती र भुलबाट सिकेर कांग्रेस सच्चिएर सुध्रिएर आउँछ कि आउँदैन ? भनेर व्यग्रतापूर्वक हामीलाई हेरेर वसेका छन् । देशको जटिल राजनीतिक अवस्थामा हामीले पुरानै राजनीतिक अडान र मुद्धालाई जस्ताको तस्तै वोकेर आम सहमतिको राजनीतिको अभिभारा निर्वाह गर्दै विगतमा जस्तै राष्ट्रिय राजनीतिको अविभावकीय भूमिका निर्वाह गर्न सक्दैनौं जन अपेक्षा अनुसार देशलाई राजनीतिक निकास दिन सक्दैनौं । अत: संविधान निर्माणका क्रममा हामीबाट पनि भुल भएका छन्, देशको परम्परागत र आधुनिक सबै प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याएर संविधान वनाउन हामी चुके कै हो भन्ने राजनीतिक यथार्थलाई आत्मसात गरेर मात्र आम सहमतिका लागि हामी नेतृत्वदायी भूमिका खेल्न सक्छौं । त्यसैले संविधानको विषयमा कुनै सर्त र अडान राखेर हुदैन, त्यसमा हामी खुल्ला भएर राजनीतिक सङ्कटलाई टार्न र देशको राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई जोगाइराख्न सबैलाई साथमा लिएर अगाडी बढ्न कांग्रेसले विशेष भूमिका खेल्न अग्रर वन्नै पर्दछ ।
विशेष राजनीतिक प्रस्ताव
उपरोक्त राजनीतिक पृष्ठभूमिलाई ख्यालमा राखेर देशको जटिल र सङ्कटको अवस्थालाई मध्यनजर राख्दै नेपाली कांग्रेसले निम्न राजनीतिक प्रस्ताव एवम मुद्धाहरूमा गहिरो छलफल गरेर हिम्मतकासाथ निर्णय गरोस् भनि निम्न वमोजिमको विशेष राजनीतिक प्रस्ताव छलफलका लागि यो नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति वैठकमा पेश गर्दछु ।
(१) ‘नेपाली कांग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान’ को तर्फबाट बहुमत महासमिति सदस्यको हस्ताक्षर सहित मैले महासमिति वैठकमा टेवुल गरेको र महासमिति सदस्यहरूले खचाखच भरिएको वैठकले वैदिक सनातन हिन्दूराष्ट्रको प्रस्तावलाई कर्तलध्वनिका साथ अभुतपूर्व रूपमा अनुमोदन गरेको कुरा यहाँ सगौरव स्मरण गराउँदै, संविधानबाट धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थालाई खारेज गरेर देशलाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गर्न नेपाली कांग्रेसले अग्रसरता लिनुपर्छ भन्ने माग गर्दै महासमित वैठकले अनुमोदन गरेको सो प्रस्तावलाई यो कार्यसमिति बैठकले पारित गरेर अगाडि बढ्न म यो वैठकमा जोडदारसंग यो प्रस्ताव पेश गर्दछु।
(२) संवैधानिक राजसंस्था, र नेपाली कांग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक शक्ति बीच मेलमिलापबाट मात्र मुलुकको अस्तित्व, स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्र जोगिन्छ भन्ने राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिकता र व्यवहारिकता आज यो नीति घोषणाको आधा शताव्दीपछि सबभन्दा वढी स्थापित भएको छ । यसरी नै २०६५ जेष्ठ १५ गते संविधान सभाले असंवैधानिक एवम् अदूरदर्शी तरिकाले समाप्त गरिएको राजसंस्थाको सान्दर्भिकता सवभन्दा बढि स्थापित भएको छ । यो नेपाली मनमनमा लेखिएको र महत्वपूर्ण निर्णय प्रक्रियाबाट वाहिर राखिएको यो विषय सार्वभौम नेपालीको चाहना हो भन्ने यथार्थलाई राम्रोसंग मनन गरौं, पढौं, वुझौं र अगाडी बढौं भन्ने मेरो धारणा छ ।
व्र्तमान अवस्थामा देशको राजनीति अत्यन्त तरल र जटिल अवस्थामा छ, नेपाली कांग्रेस एक्लैले यो जटिलताबाट देशलाई पार लगाउन कठिन छ । देश बचाउन, प्रजातन्त्रलाई गति दिन र आर्थिक उन्नती र भौतिक विकाशको गतिलाई अगाडी बढाउन हामीले हाम्रा प्रातःस्मरणीय नेताहरू जननायक बीपी कोइराला, सुर्णण शम्शेर, सर्वोच्चनेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई आदिलाई स्मरण गर्दै हाम्रा फाउण्डिङ्ग प्रिन्सिपल र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधिनमा रहेर देशका सबै राजनीतिक दल, प्रजातान्त्रिक एवम् राष्ट्रीय शक्ति र पुरानो राजसंस्थालाई समेत एक ठाउँमा ल्याएर वृहत राजनीतिक सहमति निर्माण गरेर अगाडी बढ्न नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो वैठक विशेष निर्णय गरोस् भन्दै यो विशेष राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति वैठक समक्ष पेश गर्दछु ।
(३) नेपाली कांग्रेसको सबै तहको अवधी कार्यसमितिले थप नगरेको अवस्थामा आउँदो मंसीर महिनामा समाप्त हुँदैछ भन्ने कुरा हामी सबैलाई भलिभाँति थाह भएकै कुरा हो । तथापि आजका मितिसम्म हामीले क्रियाशील सदस्यको नविकरण र नयाँ सदस्य वितरण गर्ने कार्य सम्पन्न गर्न नसकेको यथार्थ पनि हामी बीच छर्लङ्ग नै छ । यसमा कुनै एक पक्षलाई दोष दिएर समस्याको समाधान हुन सक्दैन । देशको गंभीर राजनीतिक अवस्थालाई समेत मध्यनजर राख्दै यस विषयमा हामीले गंभीर भएर निर्णय गर्नु पर्ने अवस्था हामी बीच विद्यमान छ । देश जटिल अवस्थामा छ । सरकारले निर्वाचनको मिति तोकेर अगाडी बढेको छ तर पनि सरकारको गति, देशको जटिल राजनीतिक अवस्थालाई नियालेर हेर्दा अझै निर्वाचन भैहाल्छ भनेर ढुक्क हुने अवस्था छैन । तर पनि हामीले हाम्रा सम्पुर्ण राजनीतिक शक्ति र पाइला देशलाई राजनीतिक निकास दिन र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने तर्फ नै लक्षित हुनु पर्ने आवश्यकता छ ।
विगतमा पार्टी सरकारमा नै रहेको र देशको राजनीति सामान्य अवस्थामा रहेका वखत पनि हामीले विधानले तोकेको ४ वर्ष भित्र महाधिवेशन सम्मन्न गर्ने तर्फ हामी कहिल्यै गंभीर भएनौं भने अहिले त देश असामान्य स्थितिबाट गुज्रिरहेको हामीले भोगी, अनुभव गरिरहेका छौं । पार्टीको विधानको धारा ४३ वमोजिम सबै तहको कार्यकाल अर्को एक वर्ष थप्न सकिने वैधानिक प्रावधान हामीसंग छ भने देशको संविधानले कार्यकाल ५ वर्ष तोकिएता पनि ६ महिना थप्नकालागि वाधा हुने छैन भन्ने संवैधानिक व्यवस्था पनि गरेको छ । यो व्यवस्था बमोविम ८४ सालको जेष्ठ महिना भित्र महाधिवेश सम्पन्न गरेमा पार्टी कुनै वैधानिक सङ्कटमा पर्ने छैन भन्ने पनि प्रष्ट छ । यति स्मरण गराई रहनुको तात्पर्य ०८४ जेष्ठमा नै महाधिवेशन गरौं भनेर मैले भन्न खोजेको होइन । देशको जटिल राजनीतिक अवस्थालाई हेरेर गंभीर भएर महाधिवेशनको कार्य तालिका जारी गरौं मात्र भन्ने खोजेको हो ।
अत: पहिलो प्राथमिकता निर्वाचनलाई दिएर पार्टीको सम्पूर्ण ध्यान र शक्ति निर्वाचन तर्फ लगाउने गरी क्रियाशील सदस्यको टुङ्गो पौष महिना भित्र सकेर तोकिएको समयमा निर्वाचन भए आउँदो बैशाख र निर्वाचन हुन नसकेको अवस्थामा फाल्गुन महिना भित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यक्रम वनाउन यो केन्द्रीय कार्यसमिति वैठक समक्ष यो विशेष प्रस्ताव पेश गर्दछु।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका विचार।)

भर्खरै
लोकप्रिय






































































































































































































