- समयलाई नबुझेर अघि बढ्दा बलवान व्यक्तिहरू पनि समयसँगै इतिहासमा कसरी हराए भन्ने कैयन उदाहरण महाभारतमा छन्।
- जेन्जी पुस्ताको विद्रोहको मूल कारण सुशासनको अभाव, भ्रष्टाचार र नेपोटिजमलाई भण्डाफोर गर्दै लोकतान्त्रिक बदलावको माग थियो।
- पार्टीका सभापति शेर बहादुर देउवाले महाधिवेशनसम्बन्धी मागलाई नसुनेमा जेन्जी पुस्ता प्रतिनिधित्वका लागि विशेष महाधिवेशनको माग दर्ता गर्यो।
गीतामा कृष्ण-अर्जुन संवादका क्रममा एउटा प्रसङ्ग आउँछ- समय बलवान कि व्यक्ति ? समयक्रममा अनेक बलवान व्यक्तिहरुको उदय हुन्छ। समयलाई नबुझी अघि बढे त्यस्ता बलवान व्यक्तिहरु पनि समयसँगै कसरी हराए, महाभारतमा कैयन उदाहरण छन्। गीतकार राजेन्द्र रिजाल गायक दीपक खरेलको आवाजमार्फत भन्छन्, ‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ।’ भदौ २४ पछि तपाईँ हामी पनि एक्लै बस्दा सायद गीताको त्यो प्रसङ्ग र दीपक खरेलको गीतको याद आउँदो हो। अचानक सत्ताबाट सडकमा आइपुगेका हामीलाई पनि समयले सत्तालाई कहाँ-कहाँ पुर्याउँछ भन्ने भावको गीत मुखमा आउनु अन्यथा भएन।
यो बैठकमा भएका कुरा सुन्दा अझै पनि समयको चेतलाई बुझ्ने प्रयास भएको मैले महसुस गर्न पाएको छैन। भदौ २३ अघि र पछिको समय र परिस्थितिको विश्लेषण गर्नुको साटो त्यसलाई बिर्सेर अघि बढ्ने प्रयासमा गरिरहेका छौँ। पार्टीले वर्तमानमा भोग्नुपरेका चुनौती र समस्या हल गर्न सामूहिक प्रयास गर्नुको साटो गुटगत स्वार्थबाट बाहिर निस्कन सकेका छैनौं। पटकपटक परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व गरेको कांग्रेस सहितकै देशका दलका बिरुद्ध पहिलोपटक किन यति ठूलो बिद्रोह भयो, समीक्षा गरेर आगामी बाटो तय गर्नुपर्नेमा अहिले पनि वर्चस्वको लडाइँमा व्यस्त छौं, किन?
आक्रोश विद्रोहमा रुपान्तरण
बैठकमा जेन्जी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमसँग जोडिएर कुरा उठेको छ। जेन्जी विद्रोह किन भयो? यसको सघन समिक्षा हुनुपर्छ। जिम्मेवारीमा रहँदा हामीले कति नागरिकको अपेक्षामा खरो उत्रिएर काम गर्यौँ, यसको व्यापक चर्चा हुनुपर्छ । पछिल्ला तीस बर्षमा हाम्रा नेतृत्वमा बनेको होस् वा हाम्रो सहभागिता रहेको सरकारले शुसासन दिन, भ्रष्टाचार घटाउन, नातावाद कृपावाद हटाउन काम भएको नागरिकले अनुभुत गरेनन्। अर्थतन्त्र सबल बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने भन्दा पनि युवाहरुलाई विदेशमै पठाई रेमिट्यान्स भित्र्याउने अर्थतन्त्रको पक्षपोषण गर्ने हाम्रो नीति देखियो। विचौलिया तथा कमिसन एजेन्टहरुले नेताहरुलाई अघि राखेर देश चलाए।
स्वदेशमा संघर्ष गरिरहेका हुन् वा विदेशमा अध्ययन तथा रोजगारीमा पुगेका नागरिकले नेता तथा तिनका परिवारको छोराछोरीको तुलना गर्दा आफूलाई साह्रै निरीह महसुस गरे। राज्यको साधन स्रोत राज्यसत्ताको वरिपरि रहेका विचौलिया, एजेण्ट, नोकरशाही, सभ्रान्त र केही नेताहरुको इकोसिस्टम वरिपरि मात्र घुमिरहेको देखेपछि जो कोहीको मन पनि आन्दोलित हुने नै थियो। यस्ता इकोसिस्टमअन्तर्गत रहेकाहरुका छोराछोरी र आफन्तको सार्वजनिक जीवनलाई जेन्जी पुस्ताले थुक निलेर टुलुटुलु हेरेर बसेन। पटक पटक व्यवस्था परिवर्तन भएपनि मुठ्ठीभरको मात्र अवस्था फेरिने तर हाम्रो किन फेरिन सकेन भनेर प्रश्न उठाइरह्यो। रुष्ट रहेको जेन्जी पुस्ता इकोसिस्टमका छोराछोरीलाई ‘नेपोकिड्स’ र ‘नेपोबेबिज’ नाम दिएर उनीहरुको भण्डाफोरमा उत्रियो। यसरी तिनले आफ्नो समकालीनहरुको मात्र भण्डाफोर गरेका थिएनन्, उनीहरुले इकोसिस्टममा जोडिएका हर पात्र र प्रवृत्तिको भण्डाफोर गरेका थिए। सुशासनको माग, भ्रष्टाचारको विरोध उनीहरुको मूल एजेण्डा थियो। ०६२-६३ सालको परिवर्तन नदेखेका पुस्ताले पुराना राजनीतिक दलहरुले शासन सत्ता चलाउन शुरु गरेको ०४६ साल यता सार्वजनिक पदमा आसिन सबैको सम्पति छानबिनको माग गरे।
आम नागरिकमा लोकप्रिय हुँदै गएको यो मागले जेन्जीलाई सडकमा ल्याउने अवस्था सिर्जना गर्यो। हाम्रै समेत सहभागितामा बनेको सरकारले सोसल मिडियामा सिर्जना गरेको अवरोधले आगोमा घीउ थप्ने काम भयो। सडकमा आएका बिद्रोही जेन्जी पुस्ताले ३० घण्टामै करिव दुई तिहाइको सरकारलाई सत्ताच्यूत गर्दै भाग्ने अवस्थामा पुर्यायो। प्रधानमन्त्री, मन्त्रीहरु, नेताहरु कि सेनाको शरणमा कि आफन्तकोमा भूमिगत हुने अवस्था आयो। शान्त पार्ने प्रयास नभएको नागरिकहरुको आक्रोशको ज्वालाले देशै जल्यो। आज यस्को दोष बिद्रोही जेन्जी पुस्तालाई लागेपनि नागरिकमा भड्केको आक्रोशको ज्वाला समयमै शान्त पार्ने प्रयास नगरेको मूल नेतृत्व मुख्य दोषी हो। यदि देश जल्ने कुरामा कोही असफल हो भने नागरिकलाई विश्वास र भरोसा दिलाएर आक्रोश शान्त गराउन पनि पहल नगरेको राजनीतिक दलका मूल नेतृत्व असफल भएको हो ।
पार्टीलाई इतिहासकै रक्षात्मक बनाउने नेतृत्वलाई नयाँ पुस्ताले कसरी सम्झने?
सभापति शेर बहादुर देउवाले २०८२ असारमा आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको थियो।असोजको अन्तिममा शुरु भएको यो वैठकमा सभापतिज्यूले कार्यवाहक दिएरजाँदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लान प्रष्टसँग भन्नुभएको छ।
असारको बैठकमै सभापतिज्यूलाई सम्वोधन गर्दै मैले भनेको थिए, ‘तपाईँको उमेर समूहदेखि जेन्जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौती छ । यो चुनौती पार्टीभित्र मर्यादा, अनुशासन र एकता बीना सम्भव छैन।’
सोही बैठकमै भनेको थिएँ, ‘जेन्जी पुस्ताको भावनालाई आत्मसात गर्दै उनीहरुसँग सहकार्य गर्ने र विश्वासको पुनर्निर्माण गर्ने दिशामा केन्द्रीय कार्यसमितिले ठोस योजना ल्याओस् ।’
हामीसँग नयाँ पुस्ता जोडिन हिच्किचाइरहेको र पुरानो पुस्ता बिच्किरहेको कारण हामीले खोजौं भनेर सम्झाएको थिएँ। तर यी र यस्ता बैठकमा हामीले राखेको धारणा अरण्यरोदन मात्र हुँदै आयो। बैठकमा फगत धारणा मात्र राखिएको थिएन, कार्यक्रम ल्याएर सम्बन्धित पक्षलाई सम्वोधन गरियोस् भन्ने आग्रह थियो। तर विडम्वना हाम्रो आवाजलाई एक कानले सुनेर अर्को कानले उडाइयो। केन्द्रीय समितिको बैठकमा राखिएको बिषय त मतलव गरिँदैन भने नागरिकले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमममार्फत राखिएका धारणालाई समेटेर तपाई हामीले कहिले निर्णय गर्छौ?
सामाजिक सञ्जालमाथि अवरोध नगरियोस् भनेर हामीले गरेको आग्रहलाई नसुनिएपछि बाध्य भएर दबाब दिन सरोकारवाला पक्षसँग सडकमा पनि पुग्यौ। सरकारले सामाजिक सञ्जालमा लगाइएको अवरोध हटाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरायौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिमायती नेपाली कांग्रेस आफ्नो मूल्य मान्यतामा कसैसँग सम्झौता गर्दैन भन्ने अपेक्षा विपरितका घटनाक्रम त्यसबेला भोग्नुपर्यो। आफ्नै नेता कार्यकर्ताका कुरा नसुन्ने नियति यहाँ पनि दोहोरियो। परिणाम हाम्रो अगाडि ताजै छ।
अप्ठ्यारो बेलामा सानो समूहमा मात्र सीमित नगरी वृहत सहभागितामा बैठक गरी निर्णय गरियोस भन्ने हाम्रो प्रार्थनालाई वेवास्ता गरियो। बरु पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसम्पादन भन्ने नाममा तहगत अलमल गरियो। त्यस्ता बैठकले रगतको आहालमा डुबेको सरकारमा रहेका आफ्ना प्रतिनिधिहरुलाई समेत तत्काल फिर्ता बोलाएन, बरु सत्ताप्रति आशक्ति र सरकारको नेतृत्वकर्ताप्रति वफादारी देखाइयो। केन्द्रीय समितिको बैठक बोलाउन गरेको आग्रहलाई लत्याइयो। ‘अझै Gen Z लाई नजर अन्दाज गर्ने हो भनेसत्तामा बसेकाहरूले जिटी गुण्टा कसे हुन्छ’ भनेर बाध्य भएर सामाजिक सञ्जालमा धारणा राख्न पुग्नुपर्यो। प्रदर्शनमा उत्रिएका नागरिकको रगतको दाग लिएर सरकारमा बस्नु हुँदैन सरकारबाट अलग हुनुस् भन्दा पनि केका लागि अलमल गरेर बसेको? पार्टीलाई किन अनिर्णयको बन्दी बनाएको? पार्टीलाई इतिहासकै रक्षात्मक बनाउने तपाईहरुलाई आउने पुस्ताका कांग्रेसीहरुले कसरी सम्झने?
कार्यकर्तालाई सुन्नुस, नहेप्नुस्
परम्परागत मतदाता वर्गले चेतावनी दिइरहेको थियो । नयाँ पुस्ताको आक्रोशको कुरा पटकपटकका बैठकमा ल्याएर सुनायौं तर कानमा कपास खाँदेर बस्नुभयो। कार्यकर्तालाई अनुदानको बस्तु ठान्नुभयो। संवाद गर्नुभएन, निर्देशन मात्र दिइरहनुभयो। पार्टीभित्रका नेपोकिड्स शैलीमा हुर्किएका नेताहरु अहिले पनि अनेक तरिकाले कार्यकर्तालाई अपमान गरिरहनुभएको छ ।
महाधिवेशन प्रक्रियामा अबरोध किन?
क्रियाशील सदस्यताको बिषयमा ३२ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन् भने त्यसको जवाफदेही को हुने?अग्रज तथा नेता साथीहरुकै जिल्लामा क्रियाशील सदस्यता नटुंगेको कि टुंग्याउन नदिएको? टुंग्याइएको ठाउँको फोन गरिगरी केन्द्रमा पठाउन किन रोकेको?एकातिर प्रक्रियालाई अवरुद्ध गर्न लाग्ने अनि बााहिर चाहि महाधिवेशन गर्न समयले भ्याइँदैन भन्ने दोहोरो चरित्र किन देखाएको? एमालेले पार्टी महाधिवेशनको मिति तोकेर तयारीमा जुटिसक्यो हामी भने मंसिरमा महाधिशवेशन गर्न सक्दैनौँ भ्याउँदैनौ भनेर किन हिँडिरहेको? चुनावपछि मात्र महाधिवेशन भन्ने राग टिकट बाँड्नैका लागि हो भने प्रष्ट भन्नुपर्यो। होइन भने महाधिवेशन धकेल्नु पर्ने कुन प्रयोजनका लागि?
पार्टीभित्रका नेपोकिड्स शैलीमा हुर्किएका नेताहरु अहिले पनि अनेक तरिकाले कार्यकर्तालाई अपमान गरिरहनुभएको छ ।
कुलिङ पिरियडमा किन नजरअन्दाज?
पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तिमा डेढदेखि २ बर्षको कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा हामीले राम्रो नतिजा ल्याउन सक्छौँ, त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर २ वर्षअघिको बैठकमा धारणा राखेको थिए। त्यसलाई पार्टी नेतृत्वले नजरअन्दाज गर्यो। महासमिति बैठक अघि महामन्त्रीले कार्यतालिका पेश गरेर महाधिवशेन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो। विडम्बना त्यो कार्यतालिका पछि गायव भयो। डेढ वर्षअघि २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न कुलिङ पिरियडसहित ल्याइएको त्यो कार्यतालिका के कारणले केन्द्रीय समितिमा रोकेको? प्रत्येक चुनावमा नयाँ नेतृत्वसहित जाने पार्टी परम्परा विपरित यो पटक भने किन चुनावपछि मात्र महाधिवेशन भनेर रट लगाइरहेको? कसरी हामी यस्तो सेलेक्टिभ हुन सक्छौँ?
हाम्रै कारण बिशेष महाधिवेशन
भदौ २३ यता देश, पार्टी, हामी सबै फरक परिस्थितिमा आइपुगेका छौँ। व्यक्तिगत रुपमा हामी जति आहत छौ पार्टी पनि त्यतिकै आहत छ। यो परिस्थितिमा पार्टीमा परिवर्तन अनिवार्य शर्त भएको छ। पुराना भन्ने बित्तिकै दुत्कारिने अवस्था बनेको छ। बदलिएर आए मात्र अपनाउने नागरिक सन्देश सुन्नु हाम्रो बाध्यता हो। नीति र नेतृत्व परिवर्तन गरेर मात्र चुनावमा आऊ भन्ने नागरिक र कार्यकर्ताको भावना सतहमा प्रकट भइरहेको छ। त्यसका लागि समयमै पार्टीको महाधिवेशन गर्न दवाव दिन देश तथा विदेशमा रहेका महाधिवेशन प्रतिनिधि नेता कार्यकर्ताहरुले बिशेष महाधिवेशनको माग गर्ने अवस्था बन्यो। कांग्रेसको इतिहासमै पहिलोपटक महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग भएको छ। विधानत: ४० प्रतिशतले हस्ताक्षर सहित माग गरेमा गर्नैपर्ने बाध्यता रहेको बिशेष महाधिवशेनका लागि २४८८ अर्थात करिव ५५ प्रतिशतले हस्ताक्षर गरेर कार्यवाहक सभापतिलाई केन्द्रीय कार्यालयमा १०१ दर्ता नम्वरमा दर्ता गरी बुझाइएको अवस्था छ । यो अवस्थामा केन्द्रीय कार्यसमितिको यो बैठक सहभागी हामी सबैले विवेक पुर्याएर निर्णय लिनुपर्ने छ। अग्रजनेताहरुप्रति उच्च सम्मान व्यक्त गर्दै गर्दा पनि कतिपय घटनाक्रमले उहाँहरुप्रतिको विश्वास खण्डित हुने अवस्था सिर्जना भइरहेको छ। अग्रज नेताहरुले कुरा मिलाउनुहोला भनेको त उल्टो द्वन्द्वमा लैजान खोज्नुभएको संकेत देखिन थालेको छ। असोजतिर संसद पुनर्स्थापनाको माग राख्ने नेताहरु अहिले महाधिवेशन धकेल्न पुनर्स्थापनाको माग छोडेर निर्वाचन प्राथमिकता हो भन्न थाल्नुभएको छ। चुनाव हर लोकतन्त्रवादीले स्विकार्ने विषय हो। तर त्यसका लागि पहिला पार्टीलाई ठीक ठाउँमा राखौ भन्ने न हो।
यहाँ नेताहरुको हठसँग आम नागरिक र कार्यकर्ताको भावना मिल्न सकेको छैन। असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता हुँदाहँदै पनि हामी त्यसलाई नजरअन्दाज गर्दै हस्ताक्षरकर्ताहरुलाई अपमान गर्दै महाधिवेशन नै चुनाव पछि बैशाखतिर सार्ने प्रस्ताव गर्छौ भने यो भन्दा भद्दा मजाक के हुन्छ ? कहिले महाधिवेशन प्रतिनिधिहरुको म्याद सकियो भन्देको छ। कहिले ५४ प्रतिशत भनेका न हुन्, सनाखत हुँदा आधा पनि हुँदैन भनेको छ। मिलाउने भन्दा पनि थप ध्रुवीकृत गरिएको छ। तपाईँहरु विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस्। विशेष महाधिवेशन टार्ने हो भने पुष २९ अघि १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जनाउनुस्। नत्र विधानले बाध्य बनाउने विशेष महाधिवेशन रोक्न कसरी सक्नुहुन्छ, जवाफ दिनुस्। तपाईँहरुले कार्यसमितिमा रहेको बहुमतको बलमा रोक्नुभयो भने पनि हस्ताक्षरकर्ताहरुले बिशेष महाधिवेशनको प्रक्रियामा गए भने त्यो अवस्थामा के हुन्छ सोच्नुभएको छ? चुनावअघि नियमित महाधिवेशन नगर्ने विशेषको पक्षमा निर्णय नगर्ने बिषयलाई प्रतिष्ठाको लडाइँ बनाएर के गर्नखोजेको? कार्यवाहक सभापतिज्यू, यसमा गम्भीर भएर सोचेर निर्णयमा पुग्न आग्रह गर्दछु। हामी तपाईंको साथमा छौं।
पार्टीमा जेन्जीको प्रतिनिधित्व
वडादेखि जिल्ला तहसम्म ३० बर्षमुनिका पुस्तालाई प्रतिनिधित्व गराउने व्यवस्था हाम्रो विधानमा छ। बिशेष महाधिवेशनबाट कार्यसमिति निर्वाचित भएर आएको अवस्थामा केन्द्रीय कार्यसमितिमा यो पटक मनोनित गरि यसपछिका नियमित महाधिवेशनमा विधान संसोधन गरि जेन्जी उमेर समूहको कम्तिमा १५ प्रतिशत प्रतिनिधी सुनिश्चित हुने व्यवस्था मिलाउन यो वैठकले संकल्प गरोस।
२०७९ असार बसेको बैठकमा नयाँ पुस्तालाई सम्वोधन गर्ने कार्यक्रम ल्याउन गरेको आग्रहलाई पुन दोहोर्याउँदै ४० वर्ष मुनिका युवा पुस्तालाई कम्तिमा ५० प्रतिशत प्रत्यक्ष उमेद्वार बनाउने गरि योजना तय गर्न यो वैठकमा जोडदार माग गर्दछु।
जेन्जी लक्षित पार्टी कार्यक्रम
२०८० साल पुसमा भएको वैठकमा नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकताको बारेमा लामै चर्चा गरेको थिएँ। २०८१ साउनमा भएको वैठकमा नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकताको बारेमा पुन: चर्चा गरेको थिएँ। सो वैठकमा धारणा राख्ने क्रममा भनेको थिएँ, ‘खासगरि यो वैठकमा प्रतिनिधित्व नभएको उमेर समूहको नयाँ पुस्ता आज तपाईँहामीप्रति आक्रामक छ। त्यसलाई हामीले चिनेर पनि नजर अन्दाज गरेका छौं। यही पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी वहकाइरहेको छ? हो यहि कुराको उत्तर खोज्न पनि नयाँ पुस्ता लक्षित कार्यक्रम अझ सार्थक र सघन रुपमा ल्याउनु पर्दछ । पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रमको डिजाइन गर्नुपर्यो। नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ। भदौको घटनाक्रमबाट पाठ सिक्दैपार्टीका सांगठनिक अभियानमा नयाँ पुस्ता लक्षित कार्यक्रम ल्याउन आग्रह गर्दछु।
लोकतन्त्रका लागि अग्रज पुस्ताले कति मूल्य चुकाएको थियो यो जान्नुअघि नै त्यही पुस्ताले बाटो विराउँदा विकृत भएको राजनीति र कुशासनको अनेक काण्ड देख्न अभिषप्त भएको नयाँ पुस्ता आज तपाइ हामीप्रति आक्रामक भएको हो । जस्लाई हामीले चिनेर पनि नजर अन्दाज गरेका थियौँ। ०८० पुसको वैठकमा राखेको त्यो भनाइ आज पनि सान्दर्भिक लागेर फेरि दोहोर्याएको छु। ‘हामीले नजरअन्दाज गरेको पुस्ता त्यो अरु कोही होइन तपाई हाम्रै भाइबहिनी र छोराछोरी हुन्। तर ती आज किन हाम्रा कुरा भन्दा अरुका कुरा पत्याइरहेका छन्? किन तपाइलाई मुख दिएर मन अन्तै दिइरहेका छन्? कसरी यही पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरुले सबैभन्दा बढी बहकाइरहेको छ? फगत सूचना प्रविधिको प्रयोग गरेर कांग्रेसलाई रक्षात्मक बनाइयो भन्ने कुराको अर्थ रहन्न। नयाँ पुस्ता हो सूचना प्रविधिको प्रयोग जति गर्छ, विवेकी पनि उत्तिकै छ। यो पुस्ता कि तपाईलाई कन्भिन्स गर्छ की तपाईँले उसलाई कन्भिन्स गर्नुपर्छ। तर हाम्रा गतिविधि, आचरण र व्यवहारका कारण यो विवेकी पुस्ता हामीबाट टाढा भइरहेको छ।”
२०८० असोज ५को वैठकमा नेतृत्वप्रतिको आशा निराशामा परिणत भइरहेको स्मरण गराएको थिएँ। पार्टीमा नयाँ पुस्ताको प्रवेश न्यून किन छ? किन हाम्रा कार्यक्रममा यूवाहरुको संख्या घट्दो छ, समीक्षाका लागि गरिएका आग्रह यो बैठकले नै गम्भीरतापूर्वक लिएन । विवेकसँगै विद्रोही चेत भएको र तीक्ष्ण बुद्धिको नयाँ पुस्ता हाम्रो प्राथमिकतामा हो भने नयाँ पुस्तासँग नेपाली कांग्रेस अभियान पनि तत्काल ल्याइयोस्, नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने निर्णय होस् भन्ने हाम्रो आग्रहलाई हिजो वेवास्ता गरिए पनि यो वैठकले अपनाओस्।
संविधान संशोधन
एमालेसँग सत्ता सहकार्य गर्दै गर्दा व्यवस्था, पद्धति, प्रक्रियामा सुधार गर्दै देशमा स्थिरता दिन संविधान संसोधन गरिने बताइयो । तर त्यसलाई सत्ताको भर्याङ चढेसँग बिर्सिइयो। आज पनि नागरिकस्तरमा संविधान संसोधन एउटा मुद्दा जबर्जस्त बनिरहेको छ। यो मुद्धालाई सम्वोधन गर्न पार्टीले अहिले पनि विलम्ब गर्नुहुन्न।
(कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा राखेका अभिव्यक्ति।)

भर्खरै
लोकप्रिय






































































































































































































