- सामाजिक सञ्जालमा डा. निकोलस भुषालको गिरफ्तारीलाई लिएर गृहमन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ।
- भावना राउतले सामान्य नागरिकलाई मात्र कारबाही हुँदैछ भन्दै गृहमन्त्रीसँग जवाफ माग गर्दै आलोचना गरेकी छन्।
- निकोलस भुषाललाई हिंसा भड्काउने आरोपमा पक्राउ गरिएको छ भने नेता महेश बस्नेतलाई छोडिएको छ।
काठमाडौँ- सामाजिक सञ्जालमा डा. निकोलस भुषाल पक्राउ परेको विषयलाई लिएर गृहमन्त्री र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइएको छ।
विशेषगरी, भुषाल र नेकपा (एमाले) नेता महेश बस्नेतको अभिव्यक्तिलाई तुलना गर्दै, “शक्तिशालीलाई नछुने” दोहोरो मापदण्ड अपनाइएको भन्दै आक्रोश व्यक्त भएको छ।
जेनजी नेतृ भावना राउतले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गृहमन्त्रीको जवाफ माग गरेकी छन्।
राउतले बन्द कोठाभित्र प्रश्न गर्दा गर्दा थाकेर उक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै आन्दोलन कमजोर भइरहेको गम्भीर चिन्ता समेत व्यक्त गरेकी छन्।
राउतको स्टाटसलाई सुधन गुरुङले पनि शेयर गरेका छन्। राउतले भनेकी छन्, `निकोलस भुषाल र महेश बस्नेत दुवैका अभिव्यक्तिहरूमा आधारभूत रूपमा के फरक छ जसले एक जनालाई पक्राउ गर्ने र अर्कालाई उन्मुक्ति दिने अवस्था आयो? भुषाल मात्रै पक्राउ पर्नुको कारण के हो? महेश बस्नेतलाई किन पक्राउ गरिएन?´
यो कदमले वर्तमान सरकार पनि शक्तिशाली व्यक्ति वा दलका नेताहरूलाई नछुने र सामान्य नागरिकलाई मात्रै कारबाही गर्ने केपी ओली नेतृत्वको अघिल्लो सरकारको कार्यशैलीमा ढल्केको त होइन भन्ने आशंका उब्जिएको उनीहरूले बताएका छन्।
डा. निकोलस भुषाललाई हिंसा भड्काउने र सार्वजनिक शिष्टाचार विरुद्धको अपराध गरेको आरोपमा पक्राउ गरिएको थियो। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत केही नेताहरूको घर घेर्ने लगायतका उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































