- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदैछ।
- रवि लामिछानेले सहकारी ठगी आरोपमा रु. २ करोड ७४ लाख बिगो दाखिला गरी थुनाबाहिरै बस्न माग गरेका छन्।
- सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित अभियुक्तविरुद्ध रु. १० करोड ९९ लाख बिगो कायम गरिएको छ।
बुटवल- सहकारी ठगी र संगठित अपराधसम्बन्धी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत बुटवलमा हुँदैछ।
साप्ताहिक पेशीअनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आज एक नम्बर इजलासको तेस्रो क्रमाङ्कमा यो मुद्दा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।
यसअघि कात्तिक १३ गते तोकिएको पेशीमा जोशी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। उच्च अदालतले दुवै अभियुक्तको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा हेर्न आदेश गरेको थियो।
रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो भाग बराबरको रु. २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन्। तर जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध रु. १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।
लामिछानेले आफू सहकारीको शेयर सदस्य वा सञ्चालक नभएको र कुनै अपचलन नगरेको दाबी गर्दै आएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































