- सुदूरपश्चिम सरोकार तथा समन्वय समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन सरकारले ज्ञापनपत्र बुझाएको छ।
- विश्वविद्यालयलाई गौरवपूर्ण उपलब्धि भन्दै समिति, महत्त्वपूर्ण पदहरूमा योग्य र निष्पक्ष व्यक्तिहरूको नियुक्तिको माग गरेको छ।
- समितिले एमबीबीएस अध्ययन सुरु गर्न, पूर्वाधार निर्माण र अस्पताल संचालन गर्न पनि सरकारसँग माग गरेको छ।
धनगढी- सुदूरपश्चिममा संचालन हुँदै गरेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा राजनितिक हस्तक्षेप मुक्त माग गर्दै सुदूरपश्चिम सरोकार तथा समन्वय समितिले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
गोदावरी नगरपालिका- ५ गेटामा निर्माणाधीन उक्त विश्वविद्यालयलाई दीर्घ प्रतीक्षापछि सरकारले २०८२ असोज ३१ गते प्रतिनिधिसभाबाट सम्बन्धित विधेयक पारित गरी ऐनमार्फत स्थापित गरेकाले समितिले यसलाई सुदूरपश्चिमका जनताको गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत पनि गरेको छ ।
बिहीबार समितिले बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयलाई राजनीतिक प्रभाव र भागबण्डामुक्त संस्थाको रूपमा विकास गर्न जोड दिँदै उपकुलपति र अन्य महत्त्वपूर्ण पदहरूमा योग्य, पेशागत र निष्पक्ष व्यक्तिहरूको मात्र नियुक्ति गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै गर्दा प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले सुदूरपश्चिमको गौरवका रूपमा यो विश्वविद्यालय सफल र जनमुखी बन्न सरकार तथा प्रशासन सधैं सहयोगी रहने बताए ।
समितिले विश्वविद्यालयमा यथाशीघ्र पूर्वाधार निर्माण, अस्पताल सञ्चालन र यसै वर्षदेखि एमबीबीएस अध्ययन/अध्यापन सुरु गर्न पनि सरकारसँग माग गरेको छ।
ज्ञापनपत्रमा समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट, र सचिव धर्मसिंह कुंवरका हस्ताक्षर छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































