- राप्रपा महामन्त्री डा. धवल शमशेर राणाले पार्टीको नेतृत्व शैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अध्यक्षलाई पत्र लेखेका छन्।
- उनले पार्टी निर्णयप्रक्रियामा एक व्यक्तिमुखी प्रवृत्ति र विधिविपरीत कारबाही रोक्न सुधारका कदम चाल्न आग्रह गरेका छन्।
- तत्काल महाधिवेशनको मिति तोक्न, निष्कासनहरू फिर्ता गर्न र विवाद समाधान समिति गठन गर्न माग राखिएको छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीभित्रको नेतृत्व शैली, निर्णय प्रक्रिया र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।
उनले पार्टीमा एक व्यक्तिमुखी निर्णय, स्वेच्छाचारी प्रवृत्ति र विधिविपरीत कारबाहीको श्रृंखला रोक्न तत्काल सुधारका कदम चाल्न आग्रह गरेका छन्।
डा. राणाले बुझाएको पत्रमा उनले हालको राजनीतिक परिस्थिति र राप्रपाको निष्क्रिय भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
संसद् विघटन र नयाँ अन्तरिम सरकारको गठनपछि पनि राप्रपाले राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनर्स्थापनाको पक्षमा ठोस पहल नगरेको, न राजा न अन्य सरोकारवालासँग संवादको पहल भएको भन्दै उनले नेतृत्वको उपादेयता नै शंकाको घेरामा परेको उल्लेख गरेका छन्।
राणाले विगतका आन्दोलनहरू असमयमा समाप्त पारिएको, विरोध प्रदर्शनलाई असंगत रूपमा बन्द गरिएको र यसले कार्यकर्तामा निराशा फैलाएको आरोप लगाएका छन्।
साथै, उनले पार्टीभित्रका नेताहरूलाई विधिविपरीत निष्कासन र निलम्बन गरिएको, महाधिवेशन प्रक्रिया अवरुद्ध पारिएको र निर्वाचनमा हेरफेर गर्ने मनसाय देखिएको जस्ता आरोपसमेत लगाएका छन्।
यस्तै, उनले तत्काल महाधिवेशनको मिति तोक्नुपर्ने, विधानविपरीत भएका निष्कासन र निलम्बन फिर्ता गर्नुपर्ने, निष्पक्ष महाधिवेशनका लागि निर्वाचन समिति सन्तुलित बनाउनुपर्ने र दुई पूर्वअध्यक्षसहितको विवाद समाधान समिति गठन गर्नुपर्ने माग राखेका छन्।



भर्खरै
लोकप्रिय






































































































































































































