- नेपाली फुटबल खेलाडीहरूको संघले ‘सेभ नेपाली फुटबल’ भन्दै एन्फा कम्प्लेक्स गेटमा धर्ना कार्यक्रम आयोजना गर्यो।
- खेलाडी संघका सदस्यहरूले घरेलु फुटबललाई नियमित बनाउन ‘ए’ डिभिजन लिग आयोजना गर्न माग गर्दै नाराबाजी गरे।
- एन्फा नेतृत्वमा आन्तरिक विवादले फुटबल गतिविधि प्रभावित हुँदा खेलाडीहरूले प्रदर्शनमार्फत आफ्नो आक्रोश व्यक्त गरे।
काठमाडाैँ – सम्भवतः नेपाली फुटबल अहिले जस्तो धरासायी कहिल्यै भएको छैन र गैरजिम्मेवार एन्फा र क्लबको मिलेमतोमा प्रतिभावान खेलाडी बुट थन्क्याएर सडकमा आउन बाध्य बनेका छन्। एन्फाले ‘ए’ डिभिजन लिग नगरेको वर्षौं भयो। तर फेरि पनि ‘ए’ डिभिजन लिग टार्ने एन्फा र क्लबबीच सम्झौता भएपछि खेलाडी एन्फा गेटमा धर्ना दिन पुगे।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा खेलाडीलाई भित्र प्रवेशमा रोक लगाइएको थियो। एन्फा पदाधिकारी भने बेखबरजस्तै बने। मैदानमा १२ महिना नै व्यस्त हुनुपर्ने खेलाडी आफूले खेल्न पाउनुपर्ने माग गर्दै एन्फा गेटमा पुग्दै गर्दा राज्यविहीनताको अवस्था खेलाडीले महसुस गर्नुपर्याे।
एन्फा कम्प्लेक्सको गेट बन्द गरिएको थियो। गेटभित्र प्रहरीहरू ठूलो संख्यामा तैनाथ थिए। गेटबाहिर नेपालबाट अन्तर्राष्ट्रिय फुटबलको अनुभव सँगालिसकेका भेट्रान फुटबलरहरु आफ्ना मेडल गेटमा झुन्डाएर खेल्न पाउने अधिकारबाट बञ्चित गरिएकोमा आक्रोशित रहे।
फुटबलरहरुको चेहरा मलिन थियो। सम्भवतः उनीहरुले खेलाडी भएकै कारण खेल्न पाउनुपर्ने यो हदको माग गर्नु पर्छ र आफ्ना मेडल खेल्न पाउँ भन्दै एन्फाको गेटमा झुन्ड्याउनुपर्छ भन्ने सायदै सोचेका थिए। तर परिस्थितिले उनीहरुलाई आन्दोलित बनायो।
खेलाडीको मागलाई एकीकृत गर्दै आन्दोलनको नेतृत्व नेपाल फुटबल खेलाडी संघले लिएको थियो। उनीहरुले ‘सेभ नेपाली फुटबल’ भन्दै धर्ना कार्यक्रम आयोजना गरे। यसलाई नैतिक समर्थन गर्न समर्थक तथा अन्य सरोकारवाला निकाय पनि पुगे तर एन्फा देखिएन।
यो आन्दोलनमा समर्थकका आदर्श पात्र सरिक रहे जसमा वर्तमान राष्ट्रिय टिमका खेलाडी अन्जन विष्ट, रोहित चन्द, एरिक विष्ट, सनिश श्रेष्ठलगायत खेलाडी सातदोबाटो पुग्दा उनीहरुलाई विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठलगायत खेलाडीले सँगै साथ दिए। साथै सामाजिक सञ्जालमार्फत कप्तान किरण चेम्जोङ तथा अन्य पूर्व फुटबलरले नैतिक साथ दिएका थिए।
उनीहरूको माग केबल घरेलु फुटबल नियमित हुनुपर्छ भन्ने थियो। अर्थात ‘ए’ डिभिजन लिग हुनुपर्छ, खेलाडीले खेल्न पाउनुपर्छ, घरेलु फुटबल नियमित हुनुपर्छ ।’ तर खेलाडीको मागलाई एन्फाका प्रतिनिधि आएर सम्बोधन गर्ने आँट गरेनन्। गरे त केवल ठूलो संख्यामा प्रहरीको तैनाथी।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले मैदानमा खेल्न नदिएको एन्फाले एन्फामा शान्तिपूर्ण प्रदर्शन समेत गर्न नदिएको गुनासो गरे। तर उनले यसलाई सुरुवात मात्र भएको भन्दै अब खेलाडी चुप लागेर नबस्ने चेतावनी दिए। उनले भने, ‘यो हाम्रो सुरुवात हो। हामीलाई थप कठोर बनाइँदै छ। त्यसका लागि पनि हामि तयार छौं।’
एन्फाको नेतृत्वमा आएपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई आन्तरिक विवादमै रुमल्लिरहेका छन्। न एन्फालाई सग्लो बनाएर लग्न सकेका छन्, न फुटबल गतिविधि नै गर्न सकेका छन्। यस्तोमा उनीहरु बिहीबार भने मकवानपुरको हेटौंडामा भइरहेको एन्फा प्रेसिडेन्ट कप हेर्न पुगेका थिए। उनीहरु जानाजान बिहीबार काठमाडौं छाडेर हेटौंडा पुगे किनकि उनीहरुले खेलाडीका अगाडि आफूलाई ‘फेस’ गर्न सकेनन्।
यद्यपि एन्फा प्रवक्ता सुरेश साहले खेलाडीसँग बसेर छलफल गर्नुपर्ने बताएका थिए। तर छलफल भन्दा पनि माग पूरा गर्नुपर्ने खेलाडीको एकसूत्रीय प्रयास मात्र थियो त्यहाँ। खेलाडीले विभिन्न नारासहितका प्लेकार्ड बोकेर धर्ना दिए।
जहाँ खेलाडीले एन्फामा भ्रममा नपार, जिउँदै खेलाडी नमार, एन्फा अझै मस्तीमा खेलाडी चाहीँ सास्तीमा, एन्फाको ध्यान भ्रमण र भोट, नखेली खेलाडीले पाउँदैनन् नोट, इनफ अफ लाइज, लेट फुटबल राइज, हाम्रो बुट थन्किएका छन् हाम्रो खेल्ने अधिकार खोई, वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो फुटबल, नो गेम नो फेम, एन्फाज टु ब्लेम, जीवनभर फुटबल सिक्ने, खेल्न नपाए कसरी टिक्नेरु, मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलले नै दिन्छ गास, एन्फाबाट मरिस्कयो आस, खेल हाम्रो अधिकारलगायतका अनेकन नारासहितका प्लेकार्ड बोकेर फुटबलको नियमनकारी नेतृत्वलाईघ झकझक्याए। उनीहरुको माग कति सम्बोधन हुन्छ त्यो भने समयले देखाउनेछ।


भर्खरै
लोकप्रिय






































































































































































































