काठमाडौँ– नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको ८०औँ स्थापना दिवस (युएन डे)का अवसरमा काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली सेनाले शान्ति स्थापनार्थ आपतकालीन अवस्थामा उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण, र प्राथमिक उपचार जस्ता महत्त्वपूर्ण विषयमा प्रस्तुतीकरण गरेको थियो।

नेपालले सन् १९५८ बाट संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएको छ। नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा र महिला सैनिक खटाउने राष्ट्रमा समेत पहिलो स्थानमा रहेको छ। हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरू कार्यरत छन्।

विश्व शान्ति स्थापनाको सिलसिलामा नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन्।

कार्यक्रममा रक्षा सचिव, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द र अन्य दर्जाको उपस्थिति रहेको थियो।


भर्खरै
लोकप्रिय






































































































































































































