- अर्घाखाँची अदालतले मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगलागीमा संलग्न आरोपमा पक्राउ परेकालाई थुनामुक्त गरेको छ।
- प्रमाणमा आगजनीमा संलग्नता नदेखिएको भन्दै उनीहरूलाई थुनामा नराख्ने निर्णय अदालतले गरेको हो।
- प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि गुरुदेव खनाल, पुष्पलाल गौडेल र चूरामणि ढुंगाना रिहा भएका छन्।
अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित हटारीमा रहेको घरमा आगलागी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई अदालतले थुनामुक्त गरेको छ।
जिल्ला न्यायाधीश शिवलाल पाण्डेयको एकल इजलासले भदौ २४ गतेको जेन–जी प्रदर्शनमा उनीहरू आगजनी गर्ने वा त्यसका लागि उस्काउने, दुरुत्साहन गर्ने कार्य गरेको प्रमाण मिसिलसँग संलग्न पेनड्राइभमा रहेका भिडियो तथा तस्वीरहरूबाट नदेखिएको ठहर गरेको छ। आदेशमा उनीहरू अन्यत्रको जुलुसमा सहभागी भएको सम्म देखिएको उल्लेख गर्दै, कसुरमा प्रत्यक्ष संलग्नता देखिएमा धरौटी वा तारिखमा राखी कानून बमोजिम अनुसन्धान गर्न सकिने, आवश्यक परे म्याद थप गरी अभियोगपत्र दायर गर्न सकिने भए पनि तत्कालका लागि थुनामा राख्नुपर्ने कारण नदेखिएको भनिएको छ।
अदालतको आदेशपछि बिहीबार ती तीनै जना रिहा भएका हुन्। बुधबार प्रहरीले भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्पलाल गौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानालाई नियन्त्रणमा लिएको थियो। मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा खनाल, गौडेल र ढुंगानासहित ११ जनाविरुद्ध जाहेरी दिएकी थिइन्। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगलागी भएको थियो।


भर्खरै
लोकप्रिय






































































































































































































