- चाडबाड सकेपछि आगामी निर्वाचनको लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेहरूको संख्या बढेको छ।
- निर्वाचन कार्यालयका अनुसार २०८२ फागुन २० सम्म १८ वर्ष पुग्ने व्यक्तिहरू उल्लेख्य संख्यामा दर्ता गरिएका छन्।
- २०७९ सालपछि जिल्लामा १६,२६८ नयाँ मतदाताको नामावली थप भएका, जसमा चाडबाडपछि मात्र १,४३९ जना छन्।
महोत्तरी – महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन्। “चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ”, उनले भने।
जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन्। यीमध्ये दीपावली, छठ सकेपछि एक हजार ४३९ जनाले नाम दर्ता गराएका हुन्। जिल्लामा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म गरेर १६ हजार २६८ नयाँ मतदाता थपिएका छन्। यीमध्ये १३ हजार ९२७ जना भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता गत असार १६ गतेसम्म अद्यावधिक भएका हुन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९१ हजार ५७७ मतदाता थिए। त्यसयता गत असार १६ सम्मका १३ हजार ९२७ र असोज १० यता बिहीबारसम्म दुई हजार ३४१ मतदाता थपिएका निर्वाचन अधिकारी झाले बताए।
“हामीले निर्वाचन आयोगको परिपत्रअनुसार गत असोज ९ गतेदेखि २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेहरुको फोटो खिचाएर मतदाता नामावलीमा नाम समावेश गरी रहेका छौँ,” झाले भने, “यसै अभियानभित्र त्रुटि सच्याउने र नाम बसाइ सारेको ठाउँमा सार्ने काम पनि सँगसँगै बढेको छ।”

भर्खरै
लोकप्रिय






































































































































































































