काठमाडौँ – विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले ‘हात उठाएको’ छ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदान गराउने प्रतिबद्धता सरकार र आयोगले जनाएका थिए। तर, निर्वाचनको तयारी तीव्र हुँदै जाँदा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन नसकिने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ।
शुक्रबार प्रतिनिधिसभाको चुनाव र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनावको तयारीका विषयमा जानकारी लिन राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गरेको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त आशय व्यक्त गरेका हुन्।
उनले विदेशमा रहेका नेपालीलाई चुनावमा सहभागी गराउन कानुनी तथा व्यवहारिक कठिनाइ रहेको बताए। सर्वोच्चले आदेश दिएसँगै निर्वाचन आयोगले कानुनी प्रबन्ध गर्न सरकारलाई भने पनि त्यसअनुसार काम नभएको भण्डारीका गुनासो छ। सरकारलाई सुझाव दिएको अवस्थामा अब विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार आयोगको काबु बाहिरको विषय भएको उल्लेख गरे।
भण्डारीले समितिमा भने, ‘हामी १०/१२ वर्ष अघिदेखि यो विषयमा कराएकै छौँ। आज पनि उठाइराख्या छौँ। सरकारलाई झकझक्याइराख्या छौँ। ऐन, नियम, कानून तर्जुमा गरेर फेरि पेश गरिसकेका छौँ। अब यो निर्वाचन आयोगको काबुको परिस्थिति नियन्त्रणभित्र भएन।’
जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा भाग लिने वातावरण बनाउने बताएका थिए।
अर्यालले गृहमन्त्री भएलगत्तै असोज २ गते आयोगसँगको कुराकानीमा भनेका थिए, ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनै पर्छ भन्ने छ। सर्वोच्चले आदेश दिएको पनि धेरै भयो। यसलाई सम्भव बनाउनै पर्छ। कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो।’
तर, सरकारले विदेशमा रहेकाहरुको मतदाता नामावली संकलन गर्ने कुरामै अल्झिएको छ।

तस्बिरः रासस
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नेपालीहरु १७० भन्दा बढी मुलुकमा बसोबास गरेकाले त्यहाँ मतदान गराउन सहज नभएको जानकारी दिए।
‘नेपाली मतदाताहरू विश्वका १७० भन्दा बढी राष्ट्रमा हुनुहुन्छ। १७० भन्दा बढी राष्ट्रमा हुने मतदाताहरूको मत संकलन गर्ने प्रयोजनको लागि हाम्रो चाहिँ ३८/३९ वटा मुलुकमा मात्रै कूटनीतिक सम्बन्ध स्थापित छन्,’ भण्डारीले अगाडि भने, ‘सबै मुलुकमा हामी जाने प्रयोजनको लागि सरकारले सहजीकरण गर्नुपर्छ। पहिला त्यहाँको स्थानीय सरकारको अनुमति लिएर शान्ति सुरक्षालगायत कर्मचारीहरूको प्रत्याभूति भएपछि अनि सरकारले दिएको नीति निर्देशन र कानूनको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सञ्चालन गर्ने हो।’
भण्डारीले चुनावको मिति घोषणापछि आयोगले फागुन २१ गतेका लागि ६० प्रतिशत तयारी पूरा गरिसकको बताए। चुनावका लागि चाहिने शान्ति सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकाले राजनीतिक दल, नागरिक समाज सबैलाई चुनावतर्फ लाग्न उनले आह्वान गरे।
उनले भने, ‘निर्वाचन सम्पन्न गरेरै छोड्नुपर्छ। यहाँ हामी सबैलाई थाहा छ, निर्वाचनबाहेक त्यसको विकल्प अरू नभएको हुनाले निर्वाचनमय वातावरण बनाउन सबै पक्षसँग निर्वाचन आयोग हात जोडेर बिन्ती गर्छु।’
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनबारे प्रमुख आयुक्त भण्डारीको भनाइः
जहाँसम्म विदेशमा रहेको मतदाताहरूको तपाईंले अलिअलि राम्रैसँग निवेदन गरेँ। अहिले हामीसँग कानूनको अभाव छ। अहिले गृह मन्त्रालयले एउटा मस्यौदा तयार गरेको छ अध्यादेशको लागि। त्यसमा निर्वाचन आयोगमा पनि सल्लाहको लागि पठाएको थियो। हामीले पनि सल्लाह पठाएका छौँ।
र विधेयक ल्याएर मात्रै पनि हुँदैन। हाम्रो नेपाली मतदाताहरू विश्वका १७० भन्दा बढी राष्ट्रमा हुनुहुन्छ। १७० भन्दा बढी राष्ट्रमा हुने मतदाताहरूको मत संकलन गर्ने प्रयोजनको लागि हाम्रो चाहिँ ३८/३९ वटा मुलुकमा मात्रै कूटनीतिक सम्बन्ध स्थापित अर्थात् हाम्रो कूटनीतिक मिशनहरू त्यहाँ छन्।
सबै मुलुकमा हामी जाने प्रयोजनको लागि सरकारले सहजीकरण गर्नुपर्छ। पहिला त्यहाँको स्थानीय सरकारको अनुमति लिएर शान्ति सुरक्षालगायत कर्मचारीहरूको प्रत्याभूति भएपछि अनि सरकारले दिएको नीति निर्देशन र कानूनको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सञ्चालन गर्ने हो।
हामी १०/१२ वर्ष अघिदेखि यो विषयमा कराएकै छौँ, आज पनि उठाइराख्या छौँ। सरकारलाई झकझक्याइराख्या छौँ। ऐन, नियम, कानून तर्जुमा गरेर फेरि पेश गरिसकेका छौँ। अब यो निर्वाचन आयोगको काबुको परिस्थिति नियन्त्रणभित्र भएन। र सरकारले दिएको निर्देशन र दिएको कानूनको परिधिभित्र रहेर निर्वाचन आयोग काम गर्न सधैँभरि इमान्दारीपूर्वक, निष्ठापूर्वक, सक्षम छ।
र स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष र निष्ठापूर्वक वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सधैँ तयार छ। र अहिले पनि निर्वाचन त्यही काममा जुटेको छ र निर्वाचन जसरी पनि गर्नुपर्छ। निर्वाचन सम्पन्न गरेरै छोड्नुपर्छ। यहाँ हामी सबैलाई थाहा छ निर्वाचनबाहेक त्यसको विकल्प अरू नभएको हुनाले निर्वाचनमय वातावरण बनाउन सबै पक्षसँग निर्वाचन आयोग हात जोडेर बिन्ती गर्छु।

भर्खरै
लोकप्रिय






































































































































































































