काठमाडौँ – कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा किरण पौडेलले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा शुक्रबार पौडेलले महामन्त्रीहरु नै हस्ताक्षर गराएर हिँड्नु स्वभाविक नभएको बताएका हुन्।
उनले १४औँ महाधिवेशनमा थापाले ६३ प्रतिशत मत ल्याए पनि विशेष महाविधेशनको पक्षमा हस्ताक्षर भने ५४ प्रतिशतले मात्रै गरेपछि ९ प्रतिशतले किन साथ छाडे भन्दै प्रश्न उठाए।
‘भाद्र २४ गतेसम्म हस्ताक्षर नगरेकालाई के गर्नुहुन्छ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईंहरुलाई इतिहासले के पुरस्कार देला?,’ पौडेलले भने, ‘महामन्त्रीज्यू तपाईंहरुलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईंहरूले आह्वान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ती सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान छ तर तपाईंहरूलाई भोट दिएका ९ प्रतिशत साथीहरूले किन छाड़े?’
उनले नेताहरु पार्टी बनाउन भन्दा मिडिया प्रचारमा बढी लागेको भन्दै आपत्ति जनाए। समयमा महाधिवेशन हुन नसक्नुमा महामन्त्रीहरु नै जिम्मेवार रहेको उनको टिप्पणी थियो।
उनले भने, ‘तपाईं पदाधिकारीहरु र संसदीय समितिले टिकटको लागि भागबण्डा, बाँडीचुडी, लुछाचुडी गरिरहनुहोस्। झगडा गरिरहनुहोस्। कागजमा पेश गरेर, प्रायोजित अनलाइन पत्रिका र सामाजिक सञ्जालमा आकर्षक डिजाइनमा सामग्री प्रकाशित गरेर अधिवेशन हुँदैन। आत्मालोचना गर्नुहोस्, काम गर्नुहोस् महाधिवेश हुन्छ। आफूले काम नगर्ने, अरुलाई दोष दिएर उम्किन मिल्दैन।’

भर्खरै
लोकप्रिय






































































































































































































