- पत्रकार खगेन्द्र गिरीको कथा संग्रह ‘भग्न प्रेमशाला’ प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन भएको छ।
- लेखक नयनराज पाण्डेले यी कथाहरुले नयाँ पुस्ताका लागि सन्दर्भ ग्रन्थको रूपमा काम गर्ने बताए।
- लेखक बस्नेतले कथाहरूमा दिमागछुने ट्विस्टसहित दक्षिण एसियाली स्वादको अनुभव पाइने धारणा व्यक्त गरे।
काठमाडौं – पत्रकार खगेन्द्र गिरीको कथासंग्रह ‘भग्न प्रेमशाला’ शुक्रबार राजधानीमा विमोचन भएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे।
लेखक पाण्डेले यो संग्रहले आफूलाई आशावादी बनाएको बताउँदै पछिल्लो समय आएका उल्लेखनीय कथामध्ये यो पनि एउटा भएको चर्चा गरे। विशेषगरी धमिलो रंगमा खेलिएका कथाका पात्रले पाठकलाई मज्जाले बिथोल्ने उनको भनाइ थियो। ‘कथाभित्र चिसोपन छन्, सायद यी जाडोका कथा हुन्,’ लेखक पाण्डेले भने, ‘यी बनावटी र बलजफ्ती लेखिएका होइनन्। भाषा नदीझैं बगेको छ। कथा कसरी लेख्ने, नयाँ पुस्ताका लागि सन्दर्भ ग्रन्थजस्तो छ।’ संग्रहमा स्वैरकल्पना नभई ती यथार्थमै टेकेर वाचन गरिएका कथा रहेको उनले बताए।
लेखक बस्नेतले कथाकार गिरीलाई नेपाली साहित्यमा स्वागतसँगै र ईर्ष्या गर्न सकिने बताए। ‘संग्रहमा इतिहासका प्रामाणिक विषयदेखि एआई, रोबोटिक्सका कथा पनि छन्,’ उनले भने, ‘कतिपय कथा तताउन समय लाग्छ, तर दामी ट्विस्ट आउँछ।’ दिमाग र हृदय छुन सक्ने यी कथामा दक्षिण एसियाली कथाकै जस्तो स्वाद पाइने भन्दै उनले प्रशंसा गरे।
अर्की वक्ता लेखक सगुना शाहले हरेकजसो कथामा आन्तरिक द्वन्द्व पाइने बताइन्। ‘अग्रज–नवोदित लेखकले प्रायः कम्फर्ट जोनमा बसेर लेख्ने गरेको पाउँछु,’ उनले भनिन्, ‘यस्तै कथा–पात्रमार्फत साधारण जनजीवनको असाधारण कथा पढ्न पाएको छु।’
इतिहासदेखि वर्तमानसम्मका विविध कथा समेटिएको संग्रहमा मनोवैज्ञानिक पक्षको आधिक्य रहेको शाहको भनाइ थियो। ‘यसमा कुनै वाद समाएर लेखेको देखिनँ। समाजको सूक्ष्म अवलोकन छ। पात्र चयन र विकासमा गहिरो तरिकाले काम गरिएको छ,’ उनले भनिन्, ‘केही कथाको सुरुवातलाई अझ राम्रो बनाउन सकिने ठाउँ भने छ।’
लेखक गिरीले कथा लेख्दादेखि प्रकाशन भएर हात पर्दासम्म आफूले बोझ बोकिरहेको भन्दै थपे, ‘आज हलुका भएको छु।’ हाल नेपालखबर अनलाइनमा कार्यरत गिरीले एन फ्यांकको विश्वप्रसिद्ध किताब ‘द डायरी अप ए योङ गर्ल’को नेपाली अनुवाद ‘एक किशोरीको डायरी.प्रकाशन गरिसकेका छन्। ‘भग्न प्रेमशाला’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































