- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा पाँच हजार क्विन्टल धान खरिद प्रक्रिया सुरु गरेको छ।
- गढवा गाउँपालिकामा धान खरिद सम्झौता भइसकेको र आइतबारदेखि औपचारिक खरिद प्रक्रिया सुरु हुने बताइयो।
- कम्पनीले गत वर्ष जिल्लामा ८,००० क्विन्टल धान खरिद लक्ष्य राखेकोमा १,६३२ क्विन्टल मात्र खरिद गर्न सफल भयो।
दाङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा पाँच हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ। केन्द्रले जिल्लाका लागि पाँच हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेपछि सोही आधारमा खरिद प्रक्रिया प्रारम्भ गरिएको कम्पनीको तुलसीपुर शाखा प्रमुख तुलमाया लोहारले जानकारी दिइन्।
धान खरिदका लागि गढवा गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिका चयन गरिएको छ। गढवा गाउँपालिकासँग धान खरिद सम्झौता भइसकेको र आइतबारदेखि खरिद प्रक्रिया औपचारिक रूपमा सुरु हुने प्रमुख लोहारले बताइन्।
यसपटक कम्पनीले प्रति क्विन्टल मोटा धान ३,४६३ रुपैयाँ ८१ पैसा दरमा खरिद गरिरहेको छ।
अघिल्लो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुर शाखाले ५५ लाख रुपैयाँभन्दा बढी मूल्यको धान खरिद गरेको थियो। कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म ५५ लाख ६६ हजार ४६४ रुपैयाँ मूल्य बराबरको १,६३२ क्विन्टल १५ केजी धान खरिद गरिएको कम्पनीले जनाएको छ।
गत वर्ष कम्पनीले जिल्लामा ८,००० क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो, तर त्यसको करिब २० प्रतिशत (१,६३२ क्विन्टल १५ केजी) मात्र खरिद गर्न सफल भएको थियो।
धान खरिदका क्रममा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थको मिश्रण २ प्रतिशतभन्दा कम, र टुक्रिएका वा बिग्रिएका दानाको मात्रा ५ प्रतिशतभन्दा कम भएको धान मात्र खरिद गरिएको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार, मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,४६३ रुपैयाँ र मध्यम धानको ३,६२८ रुपैयाँ तोकिएको छ।
तर अहिले किसानहरूले खाद्य कम्पनीभन्दा बाहिरका व्यापारीलाई मोटा धान प्रति क्विन्टल करिब २,५०० रुपैयाँ र मध्यम धान ३,३०० रुपैयाँ मै बिक्री गर्न बाध्य भएको बताएका छन्। धान खेतीको लागत निरन्तर बढ्दै गइरहेको र उत्पादन लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको किसानहरूको गुनासो छ।

भर्खरै
लोकप्रिय






































































































































































































