- तरकारी बोकेको जीपले ठक्कर दिँदा साइकल यात्री शंकर डगौराको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।
- घाइते पदम बहादुर शाही, हर्कबहादुर डगौरा, र कृष्ण डगौराको उपचार घोडाघोडी अस्पतालमा भइरहेको छ ।
- जीप चालक सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कृष्णको अवस्था गम्भीर रहेको छ ।
धनगढी- तरकारी बोकेको जीपले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका- २ टनकपुरमा आज बिहान साढे ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जीपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जीपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका- ६, कोटा तुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदल यात्री घोडाघोडी नगरपालिका- २, साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका- ६, कोटा तुल्सिपुर बस्ने ५४ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया- ६ कै २५ वर्षीय कृष्ण डगौरा छन् ।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जीप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका-४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































