- चलचित्र पत्रकार संघ नेपालले प्रकाशित ‘चलचित्र पत्रकार’ पुस्तकको लोकार्पण समारोह, चलचित्र विकास बोर्डको सहयोगमा सम्पन्न भयो।
- समारोहमा चलचित्र पत्रकारिता क्षेत्रको समृद्धि र शुद्ध पत्रकारिताका लागि कल्याण कोष स्थापनामा बोर्डको समर्थन रहेको बताइयो।
- ‘चलचित्र पत्रकार’ पुस्तकको बिक्रीबाट प्राप्त रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ।
नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ लोकार्पण गरिएको छ।
चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर बलामीले गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले पुस्तक विमोचन गरे।
बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रको समग्र अभिवृद्धिमा चलचित्र पत्रकारिता अभिन्न अंग भएको बताए।
उनले भने, ‘चलचित्र पत्रकारिताले चलचित्रको प्रचार र प्रवद्धनका साथै आलोचना, विश्लेषण र सुधारका दिशा देखाउने माध्यमको रूपमा काम गरेको छ। यसको समृद्धि र शुद्ध पत्रकारिताका लागि चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई बोर्डले सहयोग गरेको छ।’
यस प्रकारका प्रयासले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, अनुसन्धानमुखी र स्थायी बनाउन मद्दत गर्ने डीसीले बताए।
अध्यक्ष बलामीले संघले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकतातर्फ उन्मुख बनाउँदै नयाँ पुस्तालाई अघि ल्याउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा चलचित्र पत्रकारिताको खोजी र अनुसन्धानमुखी स्वरूपका बारेमा अध्यक्ष डीसी, कलाकार संघका अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, ध्रुव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाले चर्चा गरे।
विमर्शमा सहभागी पत्रकारले चलचित्र पत्रकारितालाई कुनै निश्चित चलचित्र वा व्यक्तिको प्रचार केन्द्रित नभई स्वतन्त्र, निष्पक्ष र सिर्जनात्मक पत्रकारिताको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
‘चलचित्र पत्रकार’ शीर्षकको पुस्तकको बिक्रीबाट प्राप्त रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































