- जिल्ला प्रहरी कार्यालय कास्कीले जेन–जी आन्दोलनमा लुटपाट र तोडफोड गर्ने आरोपीहरुलाई गिरफ्तार गर्न थालेको छ।
- दोभाजनबाट पक्राउ परेका दीपक कुवँर र दीपक रानाले सरकारी र गैर सरकारी सम्पत्तिमा आगजनी, तोडफोड गरेका थिए।
- गिरफ्तार भएका व्यक्तिहरूसँग कम्प्युटर उपकरण र मोटरसाइकल सहित विभिन्न सवारी अनुमति पत्र बरामद गरिएको छ।
पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले जेन–जी आन्दोलनमा तोडफोडसँगै लुटपाटमा संग्लनलाई धमाधम पक्राउ गर्न थालेको छ। आइतबार मोटरसाइकल, कम्प्युटर लगायतका सामाग्री चोर्ने दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ बस्ने २८ बर्षीय दीपक कुवँर र धादिङ स्थायी घर भइ पोखरा महानगरपालिका–५ बस्ने २३ बर्षीय दीपक राना मगर रहेका छन्। यी दुईले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते कास्कीका सरकारी, गैर सरकारी कार्यालय र व्यक्तिगत पसलमा आगजनी, तोडफोड र लुटपाट गरेको अनुसन्धानको क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।
पक्राउ परेका कुवँर र रानाको साथबाट कम्प्युुटरको सिपियु ३ थान, मनिटर १ थान, किबोर्ड माउस ३÷३ थान, प्रिन्टर १ थान बरामद गरिएको बस्नेतले जानकारी दिए। विभिन्न व्यक्तिको नाममा रहेको ३६ थान सवारी चालक अनुमति पत्र र बा ५९ प ८४३८ नम्बरको २२० सिसिको मोटरसाइकल बरामद गरिएको छ। जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्र गर्न नहुने सम्बन्धि कसुरमा ४ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































