प्रदेश एकमा रेल्वेको वातावरणीय प्रभाव मुल्यांकन तयार, स्थानीयले मुआब्जा पाएनन्

फाइल फोटो।

मोरङ- नेपाल रेल विभागले निर्माण हुने पूर्वपश्चिम रेल्वे सेवा अन्‍तर्गत प्रदेश एकका विभिन्‍न स्थानमा पर्न सक्ने वातावरणीय प्रभाव मुल्याङकन तयार पारेको छ।

आइतबार विराटनगरमा विभागद्वारा आयोजित सार्वजनिक सुनुवाईका क्रममा मोरङको विराटनगरदेखि इटहरीसम्म र सुनसरीको ईनरुवादेखि झापाको काकरभिट्टासम्म रेल्वे सेवाको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो। तर ८ वर्ष अघि रेल्वेका लागि गरिएको जग्गा अधिग्रहण मुआब्जा अझैसम्म स्थानीयले पाउन सकेका छैनन्।

उनीहरुले सार्वजनिक सुनुवाईका क्रममा कटहरी गाउँपालिकाका विश्वथान माझीले मुआब्जा दिन सरकारले भेदभाव गरेको गुनासो गरेका थिए।पीडित स्थानीयले ८ वर्ष अघि अधिग्रहण गरिएको जग्गाको मुआब्जा अझै नदिएको बताउँदै जनतालाई भ्रममा नपार्न सचेत गराएका थिए।

सोही क्रममा विभागले विराटनगर–इटहरी रेल्वे लिङक २० दशमलव १६ किलोमिटर हुने जानकारी दिएको छ। त्यसैगरी इनरुवा काकडभिट्टासम्मको लम्बाई १ सय ६ दशमलव ५९ किलोमिटर हुनेछ। यसक्रममा कुल १ सय २६ दशमलव ७५ किलोमिटर निर्माणमा ९० अर्ब २ करोड ८२ लाख ८६ हजार खर्च हुने अनुमान गरेको छ।

पूर्वपश्चिम रेल्वे निर्माणका क्रममा ६ सय ३५ दशमलव ७७ हेक्टर क्षेत्रफल जमिन अभिग्रहण गर्नुपर्ने विभागको भनाइ छ। सो मध्ये ५ सय १२ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य र १९ दशमलव ६० हेक्टर क्षेत्रफल वन पर्दछ।

त्यसैगरी ३३ हेक्टर क्षेत्रफलमा घनाबस्ती रहेको बताइएको छ। हाल विराटनगर इटहरीमा १ सय ९३ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने विद्युतीय रेल्वे विभागका बातावरणीय प्रभाव मुल्याङक गरेका विज्ञ रिकेश चित्रकारले बताए।

चित्रकारका अनुसार, इनरुवा काकरभिट्टा खण्डमा ३ सय ५७ घरधुरी प्रभावित हुनेछन्। यसक्रममा २ सय किलोमिटर प्रतिघण्टाको रेल्वे ट्रयाक निर्माण गर्दा ४ हजार परिवारको ५ सय १२ दशमलव ६९ हेक्टर जमिन अधिग्रहण हुनेछ।

चित्रकारका अनुसार इनरुवा बजारबाट सुरु हुने रेल्वे सेवा पूर्वपश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ। काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने उनले बताए।

कार्यक्रममा विज्ञ चित्रकारले इनरुवादेखि काडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको जानकारी दिए। भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ। नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।

रेल्वे सेवाले पूर्वपश्चिम रेलमार्गमा पर्ने सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिका हुदै अघि बढ्ने छ। त्यस्तै विराटनगर इटहरी लिङ्कले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका हुदै अघि बढ्ने बताइएको छ।
यस्तै झापामा दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकासम्म पुग्नेछ।

हाल भारतको सहयोगमा मोरङको बथनाहदेखि कटहरीसम्मको १८ किलोमिटर रेल्वे सेवा निर्माणाधीन अवस्थामा छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्