काठमाडौंः स्वास्थ्यमन्त्री दीपक बोहोराले सरकारबाट विदा हुने तयारीमा रहिरहँदा उनले राष्ट्रिय र सार्वजनिक हितमा खासै केही निर्णय लिन सकेनन्। बरु विवादमा मुछिएर विदाइको तयारी थालेका छन्। दुई ‘हाई प्रोफाइल’ पूर्ववर्ती स्वास्थ्यमन्त्री गगन थापा र गिरिराजमणि पोखरेलको तुलनामा बोहोराका सकारात्मक योगदान अत्यन्तै कम रहे तर केही निर्णयले उनलाई विवादमा तान्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता बोहोरा बाम एकतापछि स्वास्थ्यमन्त्री बनेका थिए। मन्त्रालयमा आउनासाथ गिरिराजमणि पोखरेलको पालामा राष्ट्रिय स्वास्थ्य नीति परिमार्जनका लागि निर्मित उच्चस्तरीय समिति भंग गर्दै नयाँ समिति बनाएपछि उनी सुरुमै विवादमा तानिए।
मन्त्री भएपछि पहिलो प्राथमिकतामा पर्ने कर्मचारीको सरुवा बढुवामा उनले हात हाल्न खोजे। पूर्व स्वास्थ्यमन्त्री पोखरेलले मन्त्रालयको सबैभन्दा महत्वपूर्ण नीतियोजना तथा अन्तर्राष्ट्रिय महाशाखाको प्रमुख बनाएर ल्याएका डा. श्रीकृष्ण गिरीसहित अन्य ११ जना कर्मचारीको सरुवा गर्ने उनको प्रस्ताव निर्वाचन आयोगले रोकिदिएको थियो।
आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी समेत पर्यो। उनी रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका थिए। मन्त्रालयका नीति तथा कार्यक्रम अनुसार बजेट समेत छुट्याइसकेको अवस्थामा मन्त्री बनेका बोहोराले आफ्नो योजनाअनुसार पैसासमेत खर्च गर्न नपाएको आफूनिकटसँग बताउने गरेको स्रोतले बतायो।
तर मन्त्रालयका अधिकारीहरुले उनको पालामा गगन थापा स्वास्थ्यमन्त्री बनेका बेला निर्माण गरिएको शहरी स्वास्थ्य नीति मन्त्रीपरिषदको बैठकबाट पास हुनुलाई मात्रै महत्वपूर्ण मानेका छन्। ‘मन्त्री बोहोराबाट कुनै ठूलो काम भएन। म पनि स्वास्थ्यमन्त्री भएँ भनेर पहिचान बनाउन उहाँलाई सजिलो होला। त्योभन्दा बाहेक अरु केही भएन। उहाँ आउनसाथ उल्टै विवादमा तानिनु भयो,’ मन्त्रालयका एक उच्च अधिकारीले देशसञ्चारसँग भने।
चुनावी माहोलमा स्वास्थ्यमन्त्री बनेका बोहोराका लागि मन्त्रालयको काम भन्दा आफ्नो प्रचारप्रसार प्राथमिकतामा परेको थियो। तर, वाम गठबन्धनका एमाले नेता घनश्याम भुसालले उनलाई हराइदिए। त्यसपछि मात्रै उनी मन्त्रालयमा देखिन थालेका छन्। स्वास्थ्यमन्त्री पहिले चुनावी दौडमा व्यस्त हुँदा र तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीले अवकाश पाएपछि मन्त्रालयको काम प्रभावित बनेको थिया । मन्त्री बोहोराले पनि आफू आउनसाथ निर्वाचनमा होमिनु परेकाले सोचेअनरुपको काम गर्न नसकेको स्वीकार गरे।
अब आफ्नो सरकार कामचलाउ भइसकेको अवस्थामा योजना अनुसार काम गर्न नसकिने आशय व्यक्त गरे उनले। ‘समयले मलाई काम गर्न दिएन। स्वास्थ्यमन्त्री भएर आएपछि मैले जे प्रयास गरे त्यो जनहितकै लागि थियो,’ स्वास्थ्यमन्त्री बोहोराले भने, ‘अब आगामी दिनमा बन्ने सरकारका मन्त्रीहरुले धेरै काम गर्ने छन् भन्ने मलाई विश्वास छ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































