काठमाडौं- नेपाली कांग्रेसको पराजयबाट पार्टीभित्रका युवा पंक्तिहरु उद्धेलित र चिन्तित भए पनि जिम्मेवारी निर्धारण र पार्टीलाई अघि बढाउनेबारे उनीहरुमा फरक मत देखिएको छ ।
गगन थापा लगायतको एक समूह निर्वाचनमा पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिँदै र युवा पुस्तालाई अवको नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिएको छ भने वीरबहादुर बलायर लगायतको अर्को समूहले सामुहिक आत्मसमीक्षापछि मात्रै स्पष्ट एजेण्डा लिएर स्थानीयस्तरसम्म युवाहरुलाई परिचालन गर्नु पर्ने मान्यता अघि सारेको छ ।
बलायर समूह नेतृत्व परिवर्तनको माग सार्नु भन्दा पनि पहिले युवा पुस्ताले आफुलाई बढी रचनात्मक भूमिकामा होम्नुपर्ने निष्कर्षमा पुगेको छ।
थापा समूह देशप्रेमको भावना, आर्थिक विकास, जनताको प्राप्तिलगायतका मुख्य एजेण्डा कार्यान्वयनसँगै कम्युनिष्टबाट प्रजातन्त्रमाथि पुग्न सक्ने खतराबाट मुलुकलाई जोगाउन कांग्रेसलाई संगठित गर्नु पर्ने र त्यसका लागि पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नेतृत्व बढी प्रभावकारी हुनेमा विश्वास राख्छ । उसले उमेर भन्दा पनि क्षमता, समर्पण र त्यागको आधारमा नेतृत्व चयन हुनु पर्ने मान्यता अघि सारेको छ।
थापा समूहका नेता चन्द्रभण्डारीले नयाँ विचार र दृष्टिकोण सहित कांग्रेसको संरचनाको जरामै ‘इनजेक्सन’ दिनु पर्ने निश्कर्ष सहित आफुहरु छलफलमा सक्रिय भएको बताए ।
‘कांग्रेस आईसीयुमा पुगिसकेको छ । उसलाई इन्जेक्सन लगाउनु जरुरी छ । जबसम्म त्यो गरिँदैन तबसम्म आफू पनि अघि बढ्दैन र बामगठबन्धनको चुनौति सामना गर्न पनि सक्दैन,’ भण्डारीले देशसञ्चारसँग शुक्रबार भने, ‘त्यसैका लागि हामी भेला भएका हौ ।’
उनी आर्थिक समृद्धिले फड्को मारेका दुई ठूला मुलुकहरुबीच बसेर नेपाल आत्मनिर्भर बन्नु पर्ने भएकाले त्यसतर्फ कांग्रेसको ध्यान जानु पर्ने मत राख्छन्। उनी तत्कालै केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर यी सबै विषयमा समीक्षा गर्नुपर्ने बताउँछन्।
पार्टीलाई जरैबाट बलियो बनाउन मुलुकको संरचना अनुसार कांग्रेसले आफ्नो संरचना पनि निर्माण गरी परिचालित हुनु पर्ने उनले बताए । भण्डारीको जस्तै मान्यता बोकेका नेताले केहीदिन यता छलफललाई तिव्रता दिएका छन् ।
पार्टीलाई जरैबाट बलियो बनाउनेबारे बलायर समूह पनि सहमत छ । तर यो अवस्थामा आरोप प्रत्यारोपले पार्टीलाई झन् कमजोर बनाउने उसको मान्यता छ ।

कांग्रेस नेता डिल्लीबहादुर चौधरी। तस्बिर: देशसञ्चार।
उक्त समूहका डिल्लीबहादुर चौधरी अहिले नेतृत्व परिवर्तनको माग भन्दा पनि एकता प्रर्दशन गर्ने बेला भएको बताउँछन्। ‘नेतृत्वको पनि कमीकमजोरी भयो होला । तर देउवाले नेतृत्व हस्तान्तरण गर्नासाथ कांग्रेसको पुर्नसंरचना हुन्छ भन्ने ग्यारेन्टी कसले दिन सक्छ,’ चौधरी भन्छन्’, ‘कांग्रेसलाई अघि बढाउन आफ्नो योगदान के रह्यो भन्ने आत्ममूल्यांकन गर्नु पर्छ। कति युवाले आफ्नो एजेण्डा बोकेर देश घुमे?’
चौधरी अब एकपटक पुराना सबै सदस्य निकालेर नयाँ सदस्य दर्ता गर्नु पर्ने आवश्यकता कांग्रेसमा रहेको बताउँछन्। त्यसका लागि पार्टीले कठोर निर्णय लिनुपर्ने उनको भनाई छ ।
‘सदस्य हुने अन्तरघातमा संलग्न हुने, सदस्य हुने तर भोट समेत नहाल्ने चलन हाम्रै पार्टीमा छ,’चौधरीले भने,‘यो समस्याको हल गरेपछि मात्रै कांग्रेस अघि बढ्छ ।’
चुनावको परिणाम नराम्रो आउनसाथ कांग्रेसका गगन थापासँगै चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे लगायत नेताले नेतृत्वको कार्यशैलीका कारण पराजय व्यहोर्नु परेको र पार्टीको पुनर्संरचना आवश्यक रहेको बताएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































