
काठमाडौँ–काठमाडौं प्रहरी परिसरले सरकारी छाप तथा दस्तखत कीर्तेमा पुर्व डिआईजी नवराज सिलवाललाई बयानका लागि बोलाइएको छ।
परिसरले ललितपुर जिल्ला प्रहरीमार्फत सिलवाललाई पत्र काटेको जानकारी दिएको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले सिलवाललाई पत्र काटिएको जानकारी दिएका छन्।
‘काठमाडौं प्रहरी परिसर प्रमुखले सिलवाललाई पत्र काटिएकोबारे जानकारी दिएका छन्’, एआईजी चन्दले देशसञ्चारसँग भने। यस विषयमा काठमाडौं परिसरका प्रहरी अधिकारीलाई सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन्।
सिलवाल प्रतिनिधि सभा सांसद हुन्। उनी गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
प्रहरी महानिरीक्षक (आईजी) नियुक्ति विवादमा सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन (कासमु) फाइल किर्ते भएको अदालतले निष्कर्श निकालेको थियो।
सर्वोच्चले यस विषयमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो। केही साताअघि काठमाडौं प्रहरी परिसरमा उक्त विषयमा सरकारी दस्तखत तथा छाप कीर्तेमा मुद्दा दर्ता भएपनि कसैविरुद्ध किटानी जाहेरी दर्ता भएको थिएन।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेन्द्र चन्दले त्यस्ता कुनै पत्र प्राप्त नभएको जानकारी दिए। ‘म साढे छसम्म अफिसमै थिएँ, त्यसबेला सम्म केही आएको थिएन।’
यो पनि हेर्नुहोस्: