काठमाडौँ– गत मंसिर १५ गते हरिसिद्धिमा पाँच वर्षिय बालिका बलात्कृत भइन्। हरिसिद्धिमा सैलुन चलाउँदै आएका १७ वर्षीय राजकुमार ठाकुरले घरबेटीकै नातिनीलाई चाउचाउ दिएर फकाउँदै बलात्कार गरेका थिए। भुइँतलामा रहेको सैलुनबाट सुरुवाल फुकाएर नातिनी माथि आएपछि उनका आफन्तले शंका लागेर सोधेपछि ठाकुरले बलात्कार गरेको खुलासा भएको थियो।
दिउँसो आमा काममा जाने गरेका कारण पीडित हजुरआमासँग बसेकी थिइन्। सैलुनसँगै जोडिएको कोठामा लगेर ठाकुरले बलात्कार गरेका थिए। काठमाडौं जिल्ला अदालतले ठाकुरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
गएका पुस १५ गते ललितपुरको नटोलमा छ वर्षीया बालिका बलात्कृत भइन्। एउटै कोठामा बस्दै आएका आफ्नै मामाका छोराले ती बालिकालाई बलात्कार गरेका थिए।
कोठामा कोही नभएको मौकामा १५ वर्षीय ती बालक नाताले बहिनी पर्ने बालिकामाथि जाइ लागेका थिए। बालिकाको अवस्था असामान्य देखिएपछि बुझ्दा बलात्कृत भएको खुलासा भएको थियो। ललितपुर जिल्ला अदालतले ती किशोरलाई पुर्पक्षका लागि भक्तपुरस्थित बाल सुधारगृह पठाएको छ।
पुसकै २ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन्। आमाबुबा नभएकी ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। छिमेकमा बस्दै आएका सुवास लामाले मदिरा सेवन गरी आफ्नो घरमा लगेर ती बालिकालाई बलात्कार गरेका थिए। घटना भएको १० दिनपछि पक्राउ परेका सुवासलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
प्रहरीमा दर्ता भएको जाहेरीलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षमात्र ललितपुरमा नौ वटा जर्वजस्ती करणी(बलात्कार)का घटना भएका छन्। यी घटनामा ६ वर्षीया दुई बालिका, पाँच वर्षीया एक बालिकासँगै १० वर्षीया र ११ वर्षीया दुई बालिका पनि बलात्कृत भएका छन्।
यसैगरी बारा घर भएका एक आठ वर्षीय बालकमाथि यौन दुराचार भएको छ।
ललितपुर प्रहरी परिसरका अनुसार गत आर्थिक वर्ष जिल्लामा १६ वटा जर्बजस्ती करणी सम्बन्धी जाहेरी दर्ता भएका थिए। यसैगरी जर्बजस्ती करणी उद्योगसम्बन्धी सात वटा जाहेरी थिए। उक्त आर्थिक वर्ष बाल यौन दुराचार सम्बन्धी दुई वटा जाहेरी दर्ता भएको थियो।
परिसरका अनुसार चालु आर्थिक वर्ष जिल्लामा आठ वटा जर्बजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता भएका छन्। एउटा जाहेरी बाल यौन दुराचारसम्बन्धी पनि छ। प्राय अभियुक्त पुर्पक्षका लागि थुनामा गएका छन्।
गत आर्थिक वर्ष ललितपुरमा चार वर्षीया, ६ वर्षीया, नौ वर्षीया, १२ वर्षीया लगायत आधा दर्जनभन्दा बढी बालिका बलात्कृत भएका थिए। यसबाहेक तीन वटा सामूहिक बलात्कार सम्बन्धी जाहेरी दर्ता भएको थियो।
ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्द पिडित बालिका तथा किशोरी प्राय: आर्थिक अवस्था कमजोर परिवारको हुने गरेको बताउँछन्। परिवारले छोराछोरीबारे ध्यान नदिँदा यस्ता घटनाहरु बढ्न सक्ने प्रहरी अधिकारी बताउँछन्।
‘सचेतना कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन्। हामीले पनि काम गरिरहेका छौं’, डीएसपी चन्द भन्छन्।
मुद्दा शाखामा कार्यरत एक प्रहरीका अनुसार अधिकांश पिडितका परिवार आफ्नो पिडाबारे खुलेर बोल्न सक्ने र न्याय माग्न सक्ने अवस्थाका हुँदैनन्।
८४ वर्षीय बृद्ध आरोपित
गत पुस ११ गते ललितपुरको सानो खोकनामा १० वर्षीय बालिका बलात्कृत भइन्। उनलाई बलात्कार गरेको आरोपमा ८४ वर्षीय बृद्ध टेकबहादुर बस्नेत पक्राउ परे। ती बालिकाको आरोप अनुसार बस्नेतले उनलाई शौचालयमा लगेर बलात्कार गरेका थिए। जिल्ला अदालतले यी बृद्धसँग १० हजार रुपैयाँ धरौटी मागेको थियो। यी बृद्ध अहिले थुनामुक्त छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































