
काठमाडौँ- थारु समुदायमा विशेष दिन र पर्वमा पहिरिने परम्परागत चाँदीको हौंसली, चनन हार, पैसाको माला, शिरबन्दी, बाकबाजु सहित गुलावी लेहेङ्गा चोलीमा सजिएकी एमाले सांसद शान्ता चौधरीलाई झट्ट हेर्दा ठम्याउन मुस्किल पर्यो।
सपथ ग्रहण समय अगावै निर्धारित थलोमा पुगेकी चौधरी आफ्नो मौलिक पोशाकमा सजिदा जति प्रफुल्ल महसुस गर्दै थिइन्, त्यतिनै उनलाई हेर्ने आँखाहरु पनि लोभिएका थिए।
संघीय संसदमा आफ्नो परम्परागत पोशाकमा सपथ लिन सांसदलाई दिइएको छुटको उनले भरपुर सदुपयोग गरिन आफ्नो समुदाय र क्षेत्रको मौलिकताको पहिचान झल्काउँदै।
मौलिकताको झल्को दिँदा जति दंग थिइन्, उनी त्यतिनै आफ्नो काँधमा थपिन पुगेको जिम्मेवारी पुरा गर्न सक्छु कि सक्दिन भन्ने प्रश्नको घेरामा पनि परेकी थिइन्।
त्यसो त राष्ट्रिय जनता पार्टीका तर्फबाट राष्ट्रियसभामा निर्वाचित सांसद वृषेशचन्द्र लाल पनि शीरमा पागसहित परम्परागत मिथिला पहिरनमा संसदमा झुल्किए।
आइतबार पद तथा गोपनीयताको सपथग्रहणस्थल संघीय संसद भवनको फरक रुप भेटियो चौधरी र लाल जस्तै अन्य सांसदमा झल्किएको विविधताले । वास्तवमै त्यो थलोलाई विविधता समेटिएको ‘मिनी नेपाल’को झल्को दिन उनीहरु सफल भए।
निर्वाचित भएपछिको लामो प्रतिक्षा अर्थात तीन महिनापछि पद तथा गोपनीयताको सपथ ग्रहणको अवसर प्राप्त गरेका कतिपय सासद परम्परागत जातीय भेषभुषामा उपस्थित भएर त्यसप्रति सम्मान प्रकट गरे नै कतिपयले आफ्नो मातृभाषमा सपथ समेत लिए।
थारु, तामाङ, लामा, मगर, मुस्लिम लगायतका आआफ्ना पारम्पिरिक भेषभुषाले संसदको माहोललाई फरक रुप दिएपनि परम्परागत एवं औपचारिक नेपाली राष्ट्रिय भेषभुषाको वर्चश्व पनि सहजै अनुभूति गर्न सकिन्थ्यो ।
प्रधानमन्त्री केपी ओली देखि सुदुरपश्चिम र पूर्वका पुरुष सांसद दौरा सुरुवाल तथा टोपीमा र महिला सांसद सारी चोलोमा सजिएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल भने भादगाउँले टोपी र टाइसुटमै संसदमा उपस्थित भए।
तर सपथपछि उनीहरु खुसीसँगै गम्भीरतको भाव पनि प्रकट गर्न व्यस्त बने। सञ्चारकमीको प्रश्नमा अधिकांशको उत्तर एकै भेटियो, ‘म उत्साहित त छु त्योसँगै थप जिम्मेवारी बोध गरे।’