
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेकपा एमालेको लोकतान्त्रीकरण विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताएका हुन्।
उनले भने, ‘संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ र? संविधानले रोकेको छैन। डेमोक्रेटिक राइटलाई उल्लंघन गर्ने काम कुनै पनि राजनीतिक दलले गर्न मिल्दैन।’
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने घोषणा गरेको छ। तर, भण्डारीले भने आफूले यसअघि नै पार्टी सदस्यता नवीकरण गरिसकेको र आफ्नो सदस्यता कसैले खान नसक्ने बताउँदै आएकी छन्।
राष्ट्रपतिजस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको जिकिर छ। तर, कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नवीकरण हुनुपर्ने माग गर्दै आएका छन्।
सोही विषयमा बोल्दै बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताए। संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ।
उनले भने, ‘आउने महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ। विधान महाधिवेशनभित्र कुरा उठ्नेछ। पार्टीका डकुमेण्टहरु पहिला नै आउने र छलफल गर्ने र सहमति भए सहमति हुन्छन्, भिन्न मत राख्न चाहनेका लागि भिन्न मत राख्ने वा कतिपय छलफलको कोर्षमा दिएका सल्लाहरु समेटिएपछि ती कुराहरु मान्ने भन्ने हुन्छ। नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेका छैन। राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन।’