पोखरा- दुई सातअघि पोखराको सृजनाचोकस्थित अक्सिजन ट्रेडर्स सामान खरिदका लागि अग्रिम भुक्तानी दिएकामध्ये १ सय ५० जना उपभोक्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगिएको भन्दै उजुरी दिएका छन्।
पसलबाट ४५ प्रतिशत छुटमा अग्रिम भुक्तानी दिएपछि दुई सातापछि सामान आउने भन्दै व्यवसायीले उपभोक्तालाई ठगेका थिए। फरार व्यवसायीलाई अझसम्म प्रहरीले पक्रन सकेको छैन भने त्यहाँ कार्यरत ९ जना कर्मचारी असुन्धानका लागि पक्राउ गरे पनि अहिले दुई जनामात्रै प्रहरी हिरासतमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूहरु ठगिएको र रकमउपर असुलका लागि भन्दै अहिलेसम्म १ सय ५० जनाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए।
‘ठगिनेको संख्या धेरै भए पनि प्रहरीसमक्ष आउनु भएको छैन, जानेबुझेका र सामाजिक क्षेत्रमा समेत अग्रसर व्यक्तिहरु नै ठगिएका छन्, आफू ठगिएको भन्न नचाहेका कारण पनि यो संख्या थोरै भएको हुनसक्छ,’ खत्रीले भने, ‘अधिकांश गृहिणी महिला सस्तो सामानको लोभमा ठगिन पुगेका छन्।’
उनले ६ सय रुपैयाँदेखि १ लाख ५० हजारसम्म पैसा बुझाएर सामान अर्डर गरेका ग्राहक प्रहरीमा आएको बताए। ‘अर्डर स्लिप हेर्दा ६ सयभन्दा बढी ग्राहकले सामान अर्डर गरेको देखिन्छ तर प्रहरीसमक्ष १ सय ५० जनाले मात्रै उजुरी दिनुभएको छ।’
अहिलेसम्म जम्मा ४३ लाखको मात्रै उजुरी परेको उनले बताए।
प्रवक्तासमेत रहेका खत्रीले फरार ब्यवसायीको खोजी कार्य भइरहेको बताए। ‘हामीले अपराध अनुसन्धान महाशाखा, वैदेशिक महाशाखालाई पत्राचार गरिसकेका छौँ। भारतीय राजदूतावासमा पत्राचार गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गरेका छौँ,’ उनले भने।
उनले विभिन्न नाकाहरुमा हुलियासहितको फोटोसमेत टाँसेको जानकारी दिए।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले अस्वाभिक प्रकृतिको व्यापार शैलीमाथि शंका लागेर मंसिर २० गते उजुरी दिएको बताए।
‘प्रहरीलाई केही दिन निगरानीमा राख्न पनि हामीले अनुरोध गरेका थियौँ। तर, व्यवसायी छुटेछन्,’ उनले भने, ‘प्रहरी समक्ष ५९ जना उपभोक्ताले रिहाइका लागि माग गरेपछि छोडिएको रहेछ।’
व्यवसायी फरार हुँदाको दिन नै आफूले प्रहरीलाई जानकारी गराएको र टेलिफोन सम्पर्कसमेत भएको कोइरालाको भनाइ छ। ‘प्रहरीले चाहेको भए सबै नाकामा रोकेर पक्रन सक्ने धेरै आधार थिए। फरार व्यवसायीको सम्पूर्ण नागरिकता हुँदा पनि प्रहरी आजसम्म किन मौन छ ?’ उनले आश्चर्य मान्दै प्रश्न गरे ।
‘बजारको प्रचलित भाउभन्दा आधा सस्तोमा सामान पाउने आशमा ग्राहक झुम्मिएर ठगिन पुगेको उनले बताए। सर्वसाधरणको भनाइ अनुसार १० करोडसम्मको ठगी भएको हुन सक्ने कोइरालाको भनाइ छ। थोरैमा ५ सय देखि बढीमा ५ लाखसम्मको सामान अर्डर गरेको र झण्डै ६ सय हाराहारीमा उपभोक्ताले अग्रिम भुक्तानी दिएको उपभोक्ताको भनाइबाट बुझिएको उनले बताए।
व्यवसायीले भारतीय राजदूतावासको कार्ड देखाएर २०७४ कात्तिक २२ गते तमिलनाडु राज्य त्रिसरापल्ली उरहीउलखाना अन्तर्गत बस्ने बर्ष ५३ को मथुरमण केको नामबाट आन्तरिक राजश्व कार्यालयमा दर्ता गरी व्यापारको इजाजत लिएका थिए। त्यसैगरी सो ब्यवसायमा तमिलनाडु तञ्जावर प्याराओरणी खाना वर्ष ५७ को राजेन्द्र सेठ्ठी, तिञ्जावरकै वर्ष ३५ मुर्खानन्डम तिवर, सोही ठाउँ निवासी वर्ष ४५ मठ्ठु उडऐरसमेत छन्।
सामान खरिदमा ठगिएका लेखनाथका दिनेश तिवारीले प्रहरीले ४ दिन राखेर रिहा गरेपछि व्यवसायिप्रति ग्राहकको विश्वास बढेर झनै थप ग्राहक ठगिन पुगेको बताए।

भारतीय व्यापारीबाट ठगिएका पोखराका सर्वसाधारणहरु। तीमध्ये १ सय ५० ले बिहीबार प्रहरीमा उजुरी दिएका छन्। तस्बिर: देशसञ्चार

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































