
काठमाडौँ-लामो उपचार प्रक्रिया, रोग निको हुने सम्भावना न्युन र मानसिक र शारिरीक कष्ट झेल्नु पर्ने बाध्यताबाट अव क्षयरोगका बिरामी मुक्त हुने सम्भावना प्रवल भएको छ।
सरकारले क्षयरोगका बिरामीलाई प्रदान गर्दै आएको बहुऔषधि प्रतिरोधी उपचारको विधि छोटो बनाउने निर्णय गरेसँगै सम्बन्धित बिरामीले उपचारमा समेल हुँदा अनावश्यक झन्झट व्यहोर्न नपर्ने देखिएको हो।
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्र क्षयरोगका बिरामीको सहजताका लागि र उपचार विधिको सफलता दर बढाउन त्यस्तो निर्णयमा पुगेको केन्द्रका निर्देशक डा. केदारनर सिंह केसीले देशसञ्चारलाई जानकारी दिए।
यसअघि सरकारले धेरै औषधिको मिश्रण गरेर २० महिना देखि २४ महिना सम्म क्षयरोगका बिरामीको निरन्तर उपचार तथा रेखदेख गर्दै आएको थियो। छोटो विधिअनुसार अब ९ महिनामै बहुऔषधि प्रतिरोधी उपचार विधि सकिने छ।
यसअघि बिरामीलाई ८ देखि १२ महिनासम्म सुई दिँदै आएकोमा अब ४ देखि ६ महिना मात्रै सुई दिए पुग्ने छ।
यो उपचार विधिलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएकाले सरकारले पनि कार्यान्वयनमा अग्रसरता देखाएको हो।
यो उपचार विधि अपनाइएका बिरामीमा नकारामत्क असर कस्तो परेको छ भन्ने अनुगमन गर्न यस वर्षदेखि बेल्जियमको दामियन फाउण्डेशनले उपकरण, इलेक्ट्रोल, कार्डियोग्राम र श्रवणयन्त्र समेत दिएको छ।
निर्देशक डा. केसीका अनुसार छोटो उपचार विधि चालु आर्थिक वर्षकै अन्त्यतिरबाट लागू हुने छ।
यो विधिबाट उपचार गरेमा ८५ प्रतिशत रोग निको हुने अनुमान विश्व स्वास्थ्य संगठनको छ।
पुरानो विधिमा भने ७० प्रतिशत मात्रै उपचार सफल हुने गरेको थियो।
क्षयरोगको उपचारमा छोटो विधि विश्वका ३८ मुलुकले अपनाइसकेका छन्।
सुरुवाती चरणमा यो उपचार विधि काठमाडौं, विराटनगर, पोखरा र नेपालगंगमा उपलब्ध हुने छ। २०६२ साल देखि सरकारले बहुऔषधि प्रतिरोधी उपचार सेवा सुरु गरेको थियो।