झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ लाख रुपैयाँ बराबरको चुनावी खर्च पेश गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २२ लाख ६८ हजार रुपैयाँ बराबरको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय झापामा पेश गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय झापामा ओलीले पेश गरेको चुनावी खर्चमा २४ लाख एक हजार १ सय ६० रुपैयाँ झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लड्दा खर्च भएको उल्लेख छ ।
ओलीका निर्वाचन प्रतिनिधिहरुले उनको चुनावको खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए।
उनले भने, ‘ओलीज्यूले आफैं हस्ताक्षर गरेर खर्च विवरण पठाउनु भएको छ। उहाँका निर्वाचन प्रतिनिधिहरुले उक्त खर्च विवरण निर्वाचन कार्यालयमा ल्याएर पेश गरेका हुन्।’
नेपाली काँग्रेसका नेता सिटौलाले पनि २२ लाख ६८ हजार रुपैयाँ बराबरको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय झापामा पेश गरेका हुन्।
सिटौलाका निर्वाचन प्रतिनिधिहरुले उक्त रकम बराबरको खर्च विवरण पेश गरेको निर्वाचन अधिकारी आचार्यले बताए।
सिटौला झापा क्षेत्र नं ३ बाट कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।
उनी राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसँग पराजित भएका हुन्। गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १ सय ४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकारी आचार्यले जानकारी दिए।
झापा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले पनि चुनावी खर्च विवरण बुझाएका छन्।
कार्कीले २४ लाख १० हजार र काँग्रेस नेता शर्माले २१ लाख ६८ हजार रुपैयाँ बराबरको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले ६ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी)का तेजबहादुर थापाले तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले एक लाख नौ हजार २ सय रुपैयाँको खर्च भएको विवरण पेश गरेका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो।